नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा अधिकांश मेडिकल मापदण्ड विपरित, डेट एक्सपायर औषधी बेच्छन्

ओखलढुङ्गान्युज, असार ९ ओखलढुङ्गा । पछिल्ला दिनहरुमा ओखलढुङ्गाको स्थानीय प्रशासनले ओखलढुङ्गाको बजार अनुगमनलाई तिब्रता दिएको छ । प्रशासनले जिल्ला सदरमुकाम ओखलढुङ्गा बजारका होटल तथा पसलको अनुगमन गरेको २४ घण्टा नबित्दै शुक्रबार औषधी पसलहरुमा अनुगमन गरेर म्याद गुज्रिएका औषधी बरामद गरेको छ ।

ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेल नेतृत्वको चिकित्सक सहितको अनुगमन टोलीले गरेको अनुगमनमा दुई ओटा मेडिकलमा म्याद गुज्रेका औषधी फेला परेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलोडाँडामा सञ्चानमा रहेको विणा औषधी पसल र कोचइ फार्मेसीमा म्याद गुज्रेका औषधी बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेलले जानकारी दिनुभयो । शुक्रबार गरेको अनुगमनमा सदरमुकाममा संचालित आधिकांश मेडिकल तथा औषधी पसल मापदण्ड विपरित भएको पाइएको छ ।

म्याद गुज्रीएका अाैषधी

औषधी पसलहरुले म्याद गुज्रेका औषधी बेच्ने, प्रमाणपत्र एउटाको राखेर अर्कैले चलाउने, मेडिकलले बेच्चन नपाउने औषधी बिक्रिवितरण गर्ने र डाक्टरको सिफारिस विनै उपचार गर्ने गरेको पाइएको छ । अनुगमन टोलीले अनियमित तरिकाले सञ्चालन भएका मेडिकल तथा औषधी पसलहरुलाई लिखित निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ । निर्देशन तत्काल पालन नगरे कानुनी कारवाही थालिने सहायक प्रजिअ पौडेलले बताउनु भयो ।

केही समय अगाडी पनि ओखलढुङ्गामा ओषधी पसलहरुको अनुगमन गर्दा मेडिकलहमा पशुपन्छीको औषधी पनि विक्री वितरण गर्ने पाईएको थियो । स्थानीय प्रशासनले गरेको बजार अनुगमनवाट स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । अनियमित कृयाकलाप, ठगी गर्ने तथा म्याद गुज्रीएका सामाग्री विक्रि वितरण गर्ने व्यापारीहरुलाई भने कार्वाही नभएकोमा असन्तुष्टी जनाएका छन् । बजारको नियमित अनुगमन गरि उपभोक्ताहरुको हित विपरित कृयाकलाप गर्नेहरुलाई कार्बाहीको दायरामा ल्याउन पनि उनीहरुको माग छ ।