नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गाको स्थानीय तहमा जाने सनराईज बैंक पहिलो

विवेश श्रेष्ठ, जेठ ३१ प्राप्चा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा सनराईज वैंकले आफ्नो शाखाको स्थापना गरेको छ । सनराईज बैंकले आफ्नो शाखाको विस्तार गर्ने क्रममा ओखलढुङ्गाको प्राप्चामा पनि आज एक कार्यक्रमका विच प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, मोलुङ गाउँपालिकाका अध्यक्ष मणि राईले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

यो शाखाको विस्तार सगै देशका ८७ स्थानमा शाखा पु¥याएको छ । स्थानीय तहको स्थापना सगै जिल्लाका स्थानीय तहहरुमा विभिन्न बैंकहरु जाने भनिएपनि हाल सम्म अन्य स्थानीय तहहरुमा कुनै पनि बैंकका शाखाहरु विस्तार हुन सकेको छैन । स्थानीय तहहरुमा कुनै पनि बैंकहरु नगईरहेको अवस्थामा सनराईज बैंकले मोलुङ गाउँपालिकाको प्राप्चामा आफ्नो शाखाको स्थापना गरे सगै ओखलढुङ्गाको स्थानीय तहमा जाने पहिलो बैंक बनेको छ ।


बैंक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले लामो प्रयास पछि स्थानीय तहमा पहिलो पटक बैंक गाउँपालिका मुकाममा आएको भन्दै बैंकका सञ्चालकहरुलाई धन्यवाद दिनुभयो । सनराईज बैंकले स्थानीय तहमा पहिलो पटक शाखा विस्तार गरेसगै अब जिल्लाका अन्य स्थानीय तहमा पनि तोकिएका बैंकहरु तत्काल गएर नागरिकहरुलाई सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

मोलुङ गाउँपालिकामा बैंक आएर नागरिकहरुलाई सेवा प्रबाह गरेपनि बैंकमा सुरक्षाको चुनौती रहेको भनदै त्यसका लागि आवश्यक पहल गर्न केन्द्र सरकार सग र प्रदेश सरकार सग पनि कुरा भै रहेको सांसद सुनुवारले बताउनुभयो । सुनुवारले भन्नुभयो, ‘बैंक स्थापना र सेवाका लागि केही न केही सुरक्षा चुनौती अवश्य छन् । त्यसलाई हल गर्न र सुरक्षाको व्यबस्था मिलाउन केन्द्र सरकारको गृहमन्त्री र प्रदेश सरकारको गृहमन्त्रिसँग कुरा गरिसकेको छु । सुरक्षाको बारेमा चाडै व्यबस्था हुनेछ ।’

स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेको सनराईज बैंकको जिल्लामा भने शाखा छैन । बैंकको ८८ औं शाखाको रुपमा जिल्ला सदरमुकाम ओखलढुङ्गामा शुक्रवार नै बैंकको शाखा उद्घाटन गरिने बैंकका केन्द्रिय सहायक प्रबन्धक सर्बेन्द्र मिश्रले बताउनुभयो । प्राप्चामा बैंकको स्थापनाको अबसरमा एक महिना सम्म विना पैसाको खाता खोल्न सकिने पनि बैंकले जनाएको छ । त्यस्तै बैंकले एटिएम काउण्टरको पनि व्यबस्थागर्न लागेकोले यो एक महिना भित्र बैंकमा खाता खोल्नेहरुलाई निशुल्क एटिएम कार्डको व्यबस्था गरिने पनि सहायक प्रबन्धक मिश्रले बताउनुभयो ।

बैंकको स्थापना सगै बल्ल सरकारले भनेको काठमाण्डौंको सिंहदरवार गाउँगाउँमा आएको महशुस भएको स्थानीयले बताएका छन् । बैंकको स्थापना सगै अब गाउँपालिकाका नागरिकहरुले योजना निर्माणको काम गर्दा होस या अन्य बैंकिङ कारोबार गर्दा हजारौ रकम र समय खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मोलुङ गाउँपालिकाका नागरिकलाई राहत महशुस हुने आशा राखिएको छ ।