नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

विप्लव माओवादीद्वारा ९९ रोपनी जग्गा कब्जा

ओखलढुङ्गान्युज, जेठ ३० रामेछाप । विप्लव नेतृत्वको नेकपाले रामेछापमा ९९ रोपनी जग्गा कब्जा रहेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मातहतमा रहेको जिल्ला जनपरिषद रामेछापले जग्गा कब्जा गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ खैरेनी, राकाथुममा रहेको विभिन्न व्यक्तिको ९९ सय रोपनी जग्गा आइतबार रातिबाट कब्जा गरेको छ ।

दोरम्बा गाउँपालिका वडा नं.२ का चण्डिलाल तामाङ, खाडादेवी गाउँपालिका वडा नं २ का तेज बहादुर तामाङ सेहि स्थानका रोज बहादुर तामाङ, खाँडादेवी गाउँपालिका वडा नं १ का मान बहादुर तामाङ सोहि ठाउँका सिंह बहादुर लामा, गणेश बहादुर तामाङको जग्गा नेकपाले कब्जा गरेको हो । बिक्रम सम्बत् २०३८÷३९ सालमा उनीहरुले घुस खुवाएर जग्गा आफ्नो नाममा गरेको भन्दै माओवादी कार्यकर्ताहरुले सो जग्गा कब्जा गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाको जिल्ला परिषद रामेछापले एक विज्ञप्ती जारी गर्दै उनीहरुको नाममा रहेको जग्गा आईतबार रातिबाट कब्जामा लिएको नेपाल कम्युनिष्ट पार्टी रामेछापले जनाएको छ । तत्कालीन अवस्थामा नापि विभागलाई घुस खुवाएर नक्सा पास गरेको , सो जग्गा दिन्छु भन्दै सर्वसाधारण जनतासंग रकम असुलेको र अहिलेसम्म जग्गा पनि नदिएको नेकपाको आरोप छ ।

स्थानीयबाट लिएका रकम अहिलेसम्म फिर्ता नगरेको र जग्गा धनीहरु जनविरोधी क्रियाकलापमा संलग्न भएकाले सो जग्गा कब्जामा लिएको सो पार्टीले जनाएको छ । कब्जामा लिएको जग्गा कोहि कसैले हस्तक्षेप गरे जिल्ला जनपरिषद रामेछाप जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत उसले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।