नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

ओखलढुङ्गामा बढ्दैछ अवैध र असुरक्षित गर्भपतन

पूर्णप्रसाद न्यौपाने, जेठ २० ओखलढुंगा । ओखलढुंगाका अधिकांश स्वास्थ्य संस्थाहरुले गैरकानुनी ढंगमा खुलेआम असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । निश्चित स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गर्न पाउने कानुनी व्यवस्था भए पनि ओखलढुंगाका अधिकाश स्वास्थ्य संस्थाले गैरकानुनी ढंगमा गर्भपतन गराउने गरेको पाइएको हो । सामाजिक भयका कारण महिलाहरु अहिले पनि मान्यता नपाएका अवैधानिक स्वास्थ्य संस्थाहरुमा गर्भपतन गर्न जाने गरेको र आर्थिक लालचमा परी त्यस्ता स्वास्थ्य संस्थाले गैरकानुनी ढंगबाट गर्भपतन गराउने गरेको खुलासा भएको भएको छ । असुरक्षित गर्भपतन गराएकै कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल आउनेक्रम बढेको तथ्यांकले यस्तो खुलासा गरेको हो ।

जिल्ला अस्पताल रुम्जाटार, रानीवन प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरु पोखरे, रामपुर, मानेभञ्ज्याङ, गाम्नाङटार, फुलबारी, पलापु, बलखु, कटुञ्जे, खिजीचण्डेश्वरी, टोक्सेल र केत्तुके गरि जिल्लामा १४ वटा स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतन गराउने मान्यता पाएका छन् । यद्यपि मान्यताप्राप्त स्वास्थ्य संस्थामा भन्दा पनि गर्भपतनको मान्यता नपाएका स्वास्थ्य संस्था र मेडिकलमा असुरक्षित गर्भपतन हुने गरेको पाईएको जिल्ला अस्पतालका एक चिकित्सकले बताए । ‘गोपनियताका नाममा स्वास्थ्य नै जोखिममा पारेर औषधी सेवन गर्ने र थप समस्या भएपछि अस्पतालमा आउनेहरु बढेका छन् ।’ नाम नबताउने सर्तमा उनले भने ‘यसको ठुलो विकृती छ, औषधी पसल र मान्यता नपाएका स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने काम गैरकानुनी हो,महिलाका स्वास्थ्यमा त यसले खतरनाक समस्या निम्त्याउँछ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुंगाका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ६० जनाले, २०७३/०७४ मा ५४ जनाले र चालु आर्थिक वर्षको फाल्गुण सम्ममा ५७ जनाले जिल्लाभरका मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराएका छन् । जिल्ला अस्पताल ओखलढुंगाका अनुसार सुरक्षित गर्भपतन गराउन आउने महिलाको संख्या ज्यादै कम भए पनि अन्यत्रैका स्वास्थ्य संस्थामा असुरक्षित गर्भपतन गराउँदा समस्या भएपछि अस्पताल भर्ना हुनेको संख्या भने अलि बढी छ ।

मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सेवा भए पनि झन्झटिलो हुने भएकाले तत्काल गर्भपतन गराउने मनसायले मान्यता नपाएका स्वास्थ्य संस्थामा महिलाहरु पुग्दा गर्भपतन गराउने क्रममा समस्या भएर अस्पताल भर्ना हुन आउने महिलाको संख्या निकै रहेकोे चिकित्सकहरुको भनाई छ ।

यो तथ्यांकलाई हेर्दा जिल्लामा अझै पनि धेरै महिलाहरु सरकारवाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा भन्दापनि मान्यता नपाएका संस्थामा गर्भपतन गराउन जाने र गैरकानुनी ढंगबाट स्वास्थ्य संस्थाहरुले असुरक्षित गर्भपतन गर्ने गरेको रहस्य उजागर हुन्छ ।

नियमक निकायले नियमित अनुगमन नगर्दा गैरकानुनी ढंगले स्वास्थ्य संस्था एवं चिकित्सकहरुले खुलेआम अवैध रुपमा गर्भपतन गराउने कार्यमा संलग्न देखिने गरेको पाइएको छ । मानव अधिकारकर्मी शिब ढुंगाना नियमक निकायले कडाइका साथ अनुगमन नगर्दा आर्थिक लालचका कारण मान्यता नपाएका स्वास्थ्य संस्थाले अवैध ढंगले गर्भपतन गराउने समस्या बढेको बताउँछन् । सरकारले सुरक्षित गर्भपतन गराउने मान्यता प्रदान गरे पनि सही सूचना सबैमा नपुग्दा असुरक्षित गर्भपतन गराउने क्रम रोकिनुको साटो यसमा बढोत्तरी हुँदै गएको ढुंगानाको भनाई छ ।

गैरकानुनी ढंगमा गर्भपतन गराउने स्वास्थ्य संस्था तथा चिकित्सकहरुलाई कारवाही हुने प्रष्ट कानुनी व्यवस्था भए पनि ओखलढुंगामा भने प्रत्येक वर्ष गैरकानुनी ढंगबाट गर्भपतन गराउने कार्य बढेको निष्कर्ष सम्वन्धित अधिकारीको छ ।

मान्यताप्राप्त स्वास्थ्य संस्था बाहेकका स्वास्थ्य संस्थाले महिलालाई करकापमा पारी गर्भपतन गरेमा वा अवैधरुपमा गर्भपतन गराउने कार्य गरेमा तीन वर्षसम्मको कारावासको सजाय हुने कानुनमा व्यवस्था छ । यदि कुनै पनि स्वास्थ्य संस्थामा गाइनोक्लोजिक्टले १४ दिनको तालिम लिएपछि मात्रै ८ हप्तासम्मको गर्भपतन गराउन पाउने छन् । यसैगरी अस्पतालका मेडिकल अधिकृतले १० दिनको तालिम लिएपछि १२ हप्ता तथा सोभन्दा माथिका लागि थप १० दिन तालिम लिनुपर्ने व्यवस्था रहेको छ ।

महिलाहरुको प्रजनन् अधिकार सुनिश्चित गर्न मुलुकी ऐनको ११ संसोधन गरी गर्भवतीमहिलाको मन्जुरीमा सुचीकृत स्वास्थ्य संस्थाका तालिम प्राप्त चिकित्सकबाट सुरक्षित गर्भपतन सेवा लिन सकिने व्यवस्था गरिएको छ । जसमा महिलाको स्वेच्छाले १२ हप्तासम्मको गर्भ, जबरजस्ती वा हाडनाता करणीवाट रहन गएको १८ हप्तासम्मको गर्भ तथा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरा पुग्ने, शारीरिक वा मानसिक रुपले स्वास्थ्य खराव भएमा वा बिकलाङ्ग बच्चा जन्मने भएमा चिकित्सको रायमा जुनसुकै अवधिको पनि गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।

गर्भपतनले स्वास्थ्यमा दिर्घकालिन असर गर्ने चिकित्सकहरुको भनाई छ । गर्भपतन गराएकी महिलाको पाठेघरमा संक्रमण हुने र पछि बच्चा नजन्मने समस्या समेत हुने जिल्ला अस्पताल ओखलढुंगाकी डा.प्रतिमा थापा बताउँछिन् । ‘तत्कालको समस्या त समाधान हुन्छ तर यसले स्वास्थ्यमा निकै ठुलो समस्या निम्त्याउँछ’ उनि भन्छिन् ‘यसबारे चेतनाको अभावका कारण महिलाहरुको स्वास्थ्यमा समस्या बढ्दो छ ।’ अप्रेसन गरेर गर्भपतन गराएकाहरुमा पाठेघरको संक्रमण र औषधी सेवन गरेर गर्भपतन गराएकाहरुमा पछि शिशु पैदा नहुने समस्या देखिने गरेको डा. थापाको भनाई छ । उनका अनुसार यस्तो समस्या लिएर अस्पताल आउने अधिकांश महिलालाई सोधपुछ् गर्दा विगतमा गर्भपतन गराएको बताउने गरेका छन् ।

चेतनाको अभावका कारण असुरक्षीत यौन सम्बन्ध राख्ने र अबैध गर्भपतन गराउनेहरु बढेको जानकारहरु बताउँछन् । ‘हाम्रो समाज र स्कुलले सबैकुरा सिकाउँछ तर त्यहाँ यौनका बारेमा छलफल समेत गर्नुहुँदैन भन्ने गलत मान्यता छ’ डा. थापा भन्छिन् ‘पढेकाहरुमा त यौन सम्बन्धि ज्ञानको अभाव छ, स्कुल नै नदेखेकाहरु झन कतिको जानकार होलान् सहज अनुमान गर्न सकिन्छ ।’ विद्यालयमा यौन शिक्षाका बारेमा ज्ञान दिइनुपर्ने भन्दै समुदाय र परिवारमा पनि यौनका बारेमा खुलेर छलफल गराउन सक्नुपर्ने उनको भनाई छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदी पनि यौन स्वास्थ्य सम्बन्धी सचेतनाको अभाव देखिएको बताउँछन् । ‘यौनका बारेमा व्यक्ति होईन समुदायको सोच बदलिन जरुरी छ’ प्रमुख सुवेदीले भने, ‘जब पेटमा गर्भ बसेको थाहा हुन्छ अनि उसले जसरी पनि त्यो फ्याँक्न चाहान्छ,भोलि सोच्दैन,यो गलत हो ।’ संकुचित सोच राख्ने समाजका अगुवाहरुले नै यौनका बारेमा कुरा गर्ने किशोर–किशोरीलाई लाई गिज्याउने समस्या छ । विद्यालयहरुले असुरक्षीत यौन सम्पर्कका बारेमा सचेत गराउनुपर्ने र समुदायमा पनि किशोर–किशोरी बिच स्वास्थ्यका बारमा खुलेर छलफल गर्ने बानीको विकास गर्नुपर्ने प्रमुख सुवेदीको सुझाव छ ।

जिल्लाभर ३ हजार भन्दा बढि स्वास्थ्यकर्मी र ७ सय महिला स्वास्थ्य स्वयंसेवीका मार्फत सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयको दावी छ । कार्यालयका अनुसार जिल्ला अस्पताल रुम्जाटारले अस्पतालमै किशोर–किशोरी लक्षित यौन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसका बाबजुद पनि उक्त शिक्षा अझै प्रभावकारी नभएको भन्दै अझ सचेतना मूलक शिक्षालाई जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

 

 

न्याैपाने नयाँपत्रीका दैनिकका अाेखलढुङ्गा सम्वाददाता हुन् ।