नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गावाट खेलाडीहरुलाई विदाई

ओखलढुङ्गान्युज, जेठ १८ ओखलढुङ्गा । प्रदेश नं. १ मा हुने प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सहभागी हुन जाने खेलाडीहरुलाई ओखलढुङ्गामा आज एक कार्यक्रमका साथ विदाई गरिएको छ । प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ओखलढुङ्गावाट माध्यमिक तहका ५३ जना विद्यार्थी खेलाडी सहभागी हुने छन् । विराटनगरमा हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, सितोरीयो कराँते र तेकवान्दो खेलमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जेठ १९ गतेदेखि सुरु हुनेछ । खेलका लागि सहभागीहुन जाने खेलाडीहरुलाई आज ओखलढुङ्गाबाट एक कार्यक्रमका साथ सफलताको कामना सहित विदाई गरिएको छ । आजै उनीहरू विराटनगरतर्फ प्रस्थान गरेका छन् । खेलका लागि विद्यार्थी खेलाडीसहित ६ जना कार्यालय टोली समेत प्रस्थान गरेको छ ।

शुक्रवार विहान जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा खेलाडीहरुलाई एक कार्यक्रमकाबीच सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी तुक्ति शेर्पा र ओखलढुङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले खेलाडीहरुलाई सफलताको शुभकामना सहित विदाई गर्नुभएको हो ।

विदाई कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङले खेलमा सहभागी हुने विद्यार्थी खेलाडीहरुलाई आत्मविश्वासका साथ भाग लिनका आह्वान गर्नुभएको थियो । जिल्लाको ईज्जत राख्ने गरि खेलमा अनुशासित पूर्वक सहभागी हुन समेत उहाँले खेलाडीरुलाई आग्रह गर्नुभयो ।