नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

विरामी हैन यात्रु ओसार्दै भाडा अशुल्छन् एम्बुलेन्स

ओखलढुङ्गान्युज, जेठ ९ ओखलढुङ्गा । ओखलढुङ्गामा एम्बुलेन्सले विरामी नबोकी अन्य यात्रुहरु बोक्दै भाडा अशुल्ने गरेको पाईएको छ । ओखलढुङ्गामा भूतपूर्व भारतीय सैनिक संघद्वारा सञ्चालित एम्बुलेन्सले यात्रु बोक्ने गरेको गरेको पाइएको छ । ओखलढुङ्गामा आधा दर्जनको संख्यामा एम्बुलेन्स भएपनि विरामी अस्पताल लैजानु पर्दा एम्बुलेन्स नपाएर अन्य भाडाका गाडिहरु प्रयोगग गर्नुपरेको सेवाग्राहीहरुले बेलाबेलामा गुनासो गर्दै आएका छन् ।

ओखलढुङ्गामा मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी तुक्ति शेर्पाले बा ९ च ५४४७ नम्बर प्लेटको एम्बुलेन्स नौ जना यात्रु बोकिरहेको अवस्थामा फेला पारेका छन् । सहायक प्रमुख जिल्ला अधिकारीले नै यस्तो अबस्थामा एम्बुलेन्स भेटेपछि सेवाग्राहीहरुको गुनासो प्रमाणीत पनि भएको छ । सामाजिक सेवाका नाममा भन्सार छुटमा ल्याइएको एम्बुलेन्सले यात्रु र यात्रुका सामानहरू बोकिरहेको अवस्थामा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्सलाई कारबाहीका लागि ट्राफिक प्रहरीलाई निर्देशन दिएको बताएको छ । एम्बुलेन्स सञ्चालन नीति २०६० विपरित यात्रु बोकेको भेटिएपछि एम्बुलेन्सलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासनले सिफारिस गरेको हो ।

सो एम्बुलेन्सले गोरुमारेभञ्ज्याङ–बेतिनी रूटमा लामो समयदेखी नियमित यात्रु बोक्ने गरेको स्थानीयहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालयले यात्रु बोक्ने एम्बुलेन्सलाई तत्काल कारबाहीको प्रकृया थालेका जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रमुख अनन्तराम शर्माले जानकारी दिनुभयो ।