नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

जनयुद्धका कमाण्डर जेलमा, नाइके चाही भारतको गुलामी गर्दैछन् ः महासचिब वैद्य

ओखलढुङ्गान्युज, जेठ ६ मोलुङ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ले नेपाली कम्युनिष्टहरु अब दुईधारमा विभाजित भएको बताउनुभएको छ । माओवादी केन्द्र र एमालेको एकता भएसगै नेपाली कम्युनिष्ट आन्दोलन क्रान्तिकारी र दक्षीणपन्थी गरि दुईधारमा बिभाजित भएको उहाँले दावी गर्नुभएको हो । शनिवारदेखी ओखलढुङ्गामा आयोजित प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै बैद्यले यस्तो बताउनुभएको हो ।

ओखलढुङ्गाको मोलुंग गाउँपालीकामा आयोजीत युवा प्रशिक्षणको उद्घाटन सत्रलाई संवोधन गर्दै वैद्यले एमाले माओवादी केन्द्रको एकता एकता नभएर दक्षिणपन्थी अवसरवादी धारको मिलन मात्रै भएको टिप्पणी गर्नुभयो । नेपालमा संशोधनवादी अवसरवादी धारको एकिकरण भएकाले अव क्रान्तिकारी कम्युनिष्टहरुको ध्रुविकरण आवश्यक भएको बताउदै नयाँ जनवादी धारको विकास गर्दै जनवादीक्रान्तिमा जाने र क्रान्तिकारीहरुको नेतृत्व आँफुले गर्ने समेत बताउनुभयो ।

संवोधनका क्रममा महासचिव बैद्यले दुई पार्टीको एकिकरणबाट नेकपा बनेको नभइ दक्षीण पन्थी, संशोधनबादीहरु भारतको गुलामी गर्न एउटा मोर्चामा उभिएको बताउनुभयो । एकता गर्ने बेलामा दुवै कम्युनिष्ट पार्टी हुँ भन्नेहरुले नेपालमा अरुपनि कम्युनिष्ट पार्टीह छन् भन्ने कुरा भुलेको बताउनुभयो ।

नयाँजनवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने तयारी स्वरुप प्रशिक्षणको आयोजना गरिएको पनि उहाँले बताउनुभयो । महासचिब बैद्यले हिजो जनयुद्धको कमाण्ड गरेको अपराधमा ओखलढुङ्गेली नेता बालकृष्ण ढुंगेल जेलसजाय भोगी रहेको र जनयुद्धका नाईकेहरुभने भारतको गुलामीमा लागेको आरोप लगाउनुभयो । राज्यलाई प्रतिक्रियावादीको संज्ञा दिंदै बैद्यले बालकृष्ण ढुंगेललाई बिनासर्त तुरुन्त रिहाई गर्नुपर्र्ने, यदी रिहाई नगरे प्रचण्डलाई पनि जेल बस्नुपर्ने चेतावनी समेत दिनुभयो ।

अवको बाटो नयाँजनवादी क्रान्तिको बाटो भएका कारण क्रान्तिकारीहरु एक ढिक्काहुन लागेको बताउँदै पार्टी एकिकरणका लागी विप्लव र मोहनविक्रम सिंहसँग छलफल भइरहेको क्रान्तिकारी माओवादीले जनाएको छ । संगठन सुदृढिकरण र जनपरिचालन अभियान अन्र्तगत प्रदेश स्तरीय युवा प्रशिक्षणका लागि नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष एवम् नेता सिपी गजुरेलसहित एक दर्जन पोलिटब्यूरो र केन्द्रिय सदस्यसहित ओखलढुङ्गामा भेला भएका छन् । प्रशिक्षण जेठ ९ गते सम्म चल्ने जिल्ला सेक्रेटरी पर्वतले बताए ।