नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

गीभपावर फाउण्डेशनको सहयोगमा कोषहाटमा ६ किलोवाटको सौर्य विद्युत सुचारु

विवेश श्रेष्ठ, बैशाख १४, कोषहाट ।
विहिवार ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. ९ कटुञ्जेमा सौर्य विद्युतको उद्घाटन गरिएको छ । विदेशी संस्था गीभपावर फाउण्डेशन अमेरीकाको केही रकम, गाउँपालिकाको म्याचुअल फण्ड र समुदाय समेतको कुल ३१ लाख रुपैया बराबरको लगानीमा तयारी गरिएको सौर्यबत्तीको विहिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

जडान गरिएको बत्तिको एक कार्यक्रमका बिच उद्घाटन गर्दै गीभपावर फाउण्डेशन अमेरीकाका कार्यकारी निर्देशक ब्यारिटले पहाडी तथा तराई भागका खानेपानी तथा वत्तिको समस्या भएको क्षेत्रहरुमा आफुहरुले काम गर्ने बताए । फाउण्डेशनले केही रकम लगानी गरेर केही रकम भने समुदायका तर्फबाट नै बेहोर्नु पर्नेपनि उनले बताए । केही रकम समुदायको पनि लगानी भयो भने त्यो परियोजनाको दिगोपना हुने भन्दै त्यसका लागि समुदायको तर्फबाट लगानी गर्न लगाईएको पनि उनले बताए ।

‘समुदायमा उर्जा कार्यक्रम अन्तर्गत कोषभञ्ज्यांग सोलार ग्रीड परियोजना सुनकोशी गाउँपालिका वडा नं. कटुञ्जे कोषहाटमा सञ्चालन गरिएको छ ।’ ब्यारिटले भने, ‘यो परियोजना अन्तर्गत अहिले २० ओटा सोलर पाता र १६ वटा ब्याट्री जडान गरिएको छ । यो सोलार सिस्टमवाट ६ दशमलब ४ किलोवाट विद्युत उत्पादन भएको छ । यसवाट यहाँका करिब ३० घरधुरीका १ सय पचास जना प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् । यहाँका नागरिकको सेवा गर्न पाउनु हाम्रालागि खुशीको कुरा हो ।’

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले आफ्नो गाउँपालिकामा विदेश देखी आएर सौर्य विद्युत उत्पादन गरेर वितरण गरेकोमा गीभपावर फाउण्डेशन अमेरीकाको टिमलाई धन्यवाद दिनुभयो । सुनकोशी गाउँपालिकामा खानेपानीको समस्याका कारण धेरै नागरिकहरु प्रताडित भएको बतादै आगामी दिनहरुमा यसैगरि गीभफाउण्डेशनले ती क्षेत्रहरुमा पनि लगानी गर्नेछ भन्ने अपेक्षा राख्दै आफु र आफ्नो गाउँपालिका यो गीभ फाउण्डेशन सग मिलेर नागरिकहरुको सेवा गर्न तयार रहेको पनि बताउनुभयो ।

सुनकोशी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष झनक कुमार कार्कीले सहयोगी आफ्ना गाउँका नागरिकहरुलाई उज्यालो प्रदान गरेकोमा गीभपावर फाउण्डेशलाई धन्यवाद व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा कार्कीले विगतका दिनहरुमा यहाँका नागरिकहरुले एकप्ति फोटोकपी गर्नपनि २ घण्टा धाउनुपर्ने, एकप्रति फोटोकपीको २० रुपैया सम्म तिर्नुपर्ने तथा फोटो खिच्नुपर्दा पनि महंगो शुल्क तिर्नुपर्ने अबस्थाबाट अब यहाँका नागरिकहरु मुक्त भएको पनि बताउनुभयो ।

नवनिर्वाचित जनप्रतिनिधीहरु आएपछि कोषहाटको दिगो र व्याबसायीक विकासका लागि १० वर्षे गुरुयोजना तयार भएको छ । २१औं शताब्दीको युगमा प्रयोगमा सरल भएको सञ्चारको माध्यम मोबाईलको ब्याट्री चार्ज गर्न समस्या हुदा नागरिकहरु सूचना र सम्पर्कवाट बञ्चित नै रहेका थिए । योजनालाई सफल बनाउन १२ जना अमेरीकी नागरिकहरु अहोरात्र समुदाय सगै खटिएका थिए ।

कोषभञ्ज्यांग सोलार ग्रीड परियोजना सुरु भएको तिन महिना र काम सुरु भएको पाचौ दिनमा नै बत्ति उत्पादन भै नागरिकहरु उज्यालोमा बस्न सफल भएका छन् । उद्घाटन कार्यक्रममा गीभपावर फाउण्डेशनका टिमहरुलाई स्थानीय नागरिकहरुले फुलमाला, अविर तथा पञ्चेवाजाले समेत स्वागत गरेका थिए । कुशल र सक्षम नेतृत्व हुदा कुनै पनि विकासका कामहरु समुदायको सहभागीतामा समयमा नै प्रभावकारी बन्न सक्छ भन्ने कुराको यो परियोजनालाई नमूनाको रुपमा लिन सकिन्छ । यो परियोजना सफल भएसगै सबै मिलेर काम गरे विकास छिटो हुन्छ भन्ने कुरामा दुईमत रहन्न ।