नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अमेरिकी नेतृत्वमा सिरियामा मिसाइल आक्रमण

ओखलढुङ्गान्युज, वैशाख १ – शनिवार अमेरिका, फ्रान्स तथा ब्रिटेलले सिरियाका कैयौँ स्थानहरुमा मिसाइल आक्रमण गरेको छ । पछिल्लो समाचार अनुसार सिरियामा केही सर्बसाधारण घाईते भएपनि अन्य मानविय क्षति भने नभएको बताईएको छ ।

मिसाइल आक्रमणमा परि ३ जना सर्वसाधारण घाइते भएको सिरियाको आधिकारिक समाचार एजेन्सी सनाले जनाएको छ । त्यस्तै सनाका अनुसार राजधानी दमास्कसमा रहेको एउटा रिसर्च इन्स्टिच्यूटमा पनि क्षति पुगेको छ । अमेरिका र उसका सहयोगी देशहरुले यी ठाउँमा रासायनिक हतियार भएको दावी गर्दै आएका छन् । पछिल्लो पटक सिरियामा रासायनिक हतियारको प्रयोग गर्दै हिंसा भएको पश्चिमा राष्ट्रहरुले आरोप लगाउँदै आएका छन् ।

शनिवार भएको यो आक्रमणसगै सिरियाको राजधानी दमास्कसमा आम सर्वसाधारण अमेरिकाप्रति आक्रोशित बनेका छन् । उनीहरु राजधानीका सडकहरुमा हातमा सिरियाली झण्डा र बन्दुक लिएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । प्रदर्शनमा उत्रिनेहरुले राष्ट्रपति बशर अल असदको तस्बिर हातमा बोकेका छन् ।

रुसको रक्षा मन्त्रालयले जनाए अनुसार सिरियाली सेनाले दशकौँ पुरानो हतियारको सहयोगले अमेरिकाको नेतृत्वमा भएको मिसाइल आक्रमणलाई सामना गरेको छ । सिरियाले आफ्ना पुरानो हतियारलाई प्रयोग गरेर अमेरिकाले प्रहार गरेको मिसाईललाई खसाएको जनाएको छ ।

आक्रमण हुने बारे सूचना पाउन साथ सिरियाली सरकारले आफ्नो सेनालाई उच्च शतर्कतामा राखेको थियो । सिरियाली सरकारले विभिन्न सैन्य अखडाहरु पहिले नै खाली गरेको थियो । सैन्य अखडा पहिले नै खाली गरेको र आफुहरुसग भएको हतियारको प्रयोगले अमेरिकी नेतृत्वको आक्रमणलाई असफल बनाईदिएको पनि सिरियाले जनाएको छ ।