नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

शीतयुद्धको मानसिकतालाई त्याग्न चीनको चेतावनी

ओखलढुङ्गान्युज, चैत २९ ।  चीनका राष्ट्रपति सी जिनपिङले शीतयुद्ध मानसिकता तत्काल त्याग्न चेतावनी दिएका छन् । चिनको राजधानी बेइजिङमा सुरु भएको बोआओ फोरम फर एसिया (बिएफए)लाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले अन्तराष्ट्रिय समुदायलाई सो चेतावनी दिएका हुन् ।

वासिङ्टनसँगको व्यापार युद्धको जोखिम शान्त पार्ने प्रयास स्वरूप राष्ट्रपति सीको सो सम्बोधन आएको हो । चीनबाट कार निर्यातमा लाग्दै आएको शुल्क कटौती गर्ने र चीनमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई आवश्यक पर्ने प्रावधान खुकुलो बनाउने सम्बोधनका क्रममा उनले प्रतिबद्धता व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ अडानविपरीत चिनियाँ राष्ट्रपति सीले समानतालाई जोड दिए । चिनियाँ र अन्तर्राष्ट्रिय लगानीहरूको एउटा समूहलाई सम्बोधन गर्दै उनले भने, ‘आजको विश्वमा शान्ति र सहकार्यको प्रवृत्ति अगाडि बढिरहेको छ र शीतयुद्धको मानसिकता अब पुराना भइसके ।’

अमेरिकालाई लक्षित गर्दै कुनै पनि देश क्षणिक स्वार्थमा अल्झिन नहुने सीको भनाइ थियो । ‘प्रतिस्पर्धाको नाममा अर्को मुलुकको खुट्टा तान्ने प्रवृत्तिले आफ्नै विनाश गर्छ,’ उनले भने । स्वस्थ प्रतिस्पर्धाबाटै सम्पूर्ण विश्वले लाभ पाउने उनको धारणा थियो । राष्ट्रपति सीको भनाइप्रति ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् । पछिल्लो समयमा अमेरिका र चीन दुवैले एक–अर्को देशमा निर्यात हुने सामग्रीको निर्यातमा भारी शुल्क वृद्धि गरेका छन्, जसका कारण व्यापार युद्धको जोखिम बढेको विज्ञहरूले बताउँदै आएका छन् ।