नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बन्धक छुटाउने क्रममा फ्रान्समा एक प्रहरी अधिकारीको मृत्यु

चैत १३ ।
फ्रान्समा शुक्रबार बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेका एक प्रहरी अधिकारीको मृत्यु भएको छ । शंकास्पद अतिवादीले बन्धक बनाएका व्यक्तिहरूको उद्धारमा नायक बनेका लेफ्टिनेन्ट कर्नेल अर्माड बेल्ट्रेमले अस्वाभाविक साहस देखाएको फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले बताए ।

उनको साहसका कारण ठूलो मानवीय क्षति टरेको थियो । तथापि, अतिवादीको हमलामा दुई सर्वसाधारण मारिएका थिए । प्रहरीले २५ वर्षीय आक्रमणकारी रेडोउनी लार्कडिमको थप आक्रणलाई विफल पारिदिएको थियो । प्रहरीको गोली लागेर आक्रमणकारी मारिएका थिए ।

प्रहरी अधिकारीको मृत्य भएको ट्विटरमा पुष्टि गर्दै गृहमन्त्री जिराल्ड कोलोम्बले भने, ‘उनले आफ्नो देशका लागि सहादत प्राप्त गरे । उनको नायकत्व, साहस र बलिदानलाई प्रहरीले कहिल्यै पनि बिर्सनेछैन ।’ यसअघि म्याक्रोनले प्रहरी अधिकारी बेलट्रोम गम्भीर घाइते भएको र अस्पतालमा अन्तिम संघर्ष गरिरहेको बताएका थिए । अतिवादीले गरेको हमलामा १६ जना गम्भीर घाइते भएका थिए ।

शुक्रबार दिउँसो एक मुस्लिम अतिवादीले सुपरमार्केटका कर्मचारी र त्यहाँ आउने ग्राहकलाई बन्धक बनाई अन्धाधुन्द गोली प्रहार गर्दा दुई सर्वसाधारण मारिएका थिए । आक्रमणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीले आक्रमणकारीका एक साथीलाई पक्राउ गरेको छ । पछिल्ला समयमा फ्रान्समा शृंखलाबद्ध रूपमा अतिवादी हमला हुने गरेका छन् । सन् २०१५ को नोभेम्बर १३ मा पेरिसमा भएको अतिवादी हमलामा एक सय ३० सर्वसाधारण मारिएका थिए ।

श्रोत ः नयाँपत्रिका