नेपाली समय Loading...२०७६ श्रावण ५ आईतवार

विद्यालयको भित्तामा पहेंलो र छानामा रातो रंग लगाउन सरकारको निर्देशन

ओखलढुङ्गान्युज, चैत १३ काठमाण्डौं ।
विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको छ । शिक्षा विभागको यो निर्देशन सगै विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाएर कार्यान्वयन गरिसकेको छ ।

केही समय अगाडी सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ शहरी विकास तथा भवन निर्माण विभागले जारी गरेको थियो । तर, यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ ।

निर्देशिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्ने छ र फिका पहेंलो रंग लगाउनुपर्ने छ । पहेंलो रंग उज्यालो हुने र वुद्धिजिवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको शिक्षा विभागका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।

भवनको छानो रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्ने छ । यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्ने छ । कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । कार्यमा एकाग्रता ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रंग प्रयोग गर्न भनिएको विभागका प्रवक्ता दाहालले बताए । यसैगरी सिलिङ, सभाकक्ष, करीडोर र भर्यागङको भित्ताको माथिल्लो भागमा सेतो रंग लगाउन परिपत्र मार्फत बिभागले भनेको छ ।