नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बालकृष्ण ढुंगेलकाे खाली खुट्टे सार्बजनिक

बालकृष्णकी छोरीको प्रश्न ः गणतन्त्र कहाँ छ ?

ओखलढुङ्गान्युज, चैत ९ काठमाण्डौं ।
‘सर्वोच्च अदालतको आदेशमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलद्वारा लिखित गीति एल्बम खाली खुट्टे सार्बजनिक गरिएको छ । विमोचन कार्यक्रममा उनकी जेठी छोरी विनिताले प्रश्न गरिन गणतन्त्र कहाँ छ ? विनिताले उपस्थित सबै सग प्रश्न गरिन, ‘देशमा कम्युनिष्ट सरकार छ, गणतन्त्र दिवस मनाईन्छ , तर त्यही गणतन्त्रको लागि लडेका एउटा योद्धा जेलमा छन् । यो कस्तो गणतन्त्र हो ? कहाँ छ ? कसका लागि हो ?’ ढुंगेल केन्द्रीय कारागारमा जेल सजाय बिताइरहँदा उनले रचना गरेको गीति एल्बम एक कार्यक्रमको आयोजना गरी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरेकी उनकी जेठी छोरी विनिताले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै बाल्यकालको स्मरण गर्दै उनले सभाहल नै स्तब्ध पारिन् । आफ्नो बाल्यकालबारे उनले सुनाउँदा कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लगायत अन्य विशिष्ट अतिथिहरुको समेत आँखा रसाएको थियो ।

‘म र मेरी बहिनी कहिलेकाहीँ आमालाई सोध्थ्यौं– ‘सबैका बुबा घरमा छन्, हाम्रो बुबा चाहिँ खोइ त ? हामी आमालाई यो प्रश्न निरन्तर सोध्थ्यौं । तर यही प्रश्नले आमालाई सारै पीडा हुँदोरहेछ,’ उनले विगत सम्झिन्, ‘हाम्रो प्रश्न आएपछि आमाले हामीलाई सम्झाउनुहुन्थ्यो, बुबा माओवादी हुनुभएको छ, कुनै दिन आउनुहुन्छ, भन्नु हुन्थ्यो ।’

‘यहाँसम्म कि बालकृष्ण ढुंगेलकै छोरी भएकाले हामीले बाबुको फोटो हेर्नसमेत पाएका थिएनौं,’ विनिताले भनिन्, ‘घरमा सेना र प्रहरीले खानतलासी गर्ने काम सधैंजस्तो गथ्र्यो । आमाले बुबाका फोटा घरपछाडि खाल्डो खनेर लुकाएकी थिइन् । एक दिन त्यो पनि सेनाले थाहा पाएर खाल्डो उधिनेर फोटो नै लग्यो, त्यसपछि फोटामा भेटेका बुबा पनि हामीबाट टाढा भए । बालकृष्ण ढुंगेलका छोरी भएकै कारण हामीले आफ्नो बाबाको फोटो पनि हेर्न पाएनौं ।’

सुरक्षाका कारण गाउँमा बस्न नसकेपछि काठमाडौंमा आएर आमा ज्यामी काम गर्न थालेको र आफूहरू अनाथालयमा बसेको समेत उनले सुनाइन् । उनले मानवअधिकारवादीलाई आफ्नो मानवअधिकारबारे खोज्न नपर्ने भनेर प्रश्नसमेत गरिन् । उनले भनिन्, ‘सावित्री श्रेष्ठको मानवअधिकार खोज्ने मानवअधिकारवादीहरूले मेरो मानवअधिकार किन खोज्दैनन् ? के मेरो मानवअधिकार हुँदैन ?’

कार्यक्रमका प्रमुख अतिथि व्याकुल माइला लगायत कार्यक्रममा उपस्थित रहेका अन्य अतिथिहरुले ढुंगेलको योगदान र उनले रचेका गीतहरूको प्रशंसा गरेका थिए । चेतन सापकोटाद्वारा संगीतबद्ध गरिएका गीति एल्वममा अञ्जु पन्त, शिव परियारलगायतको स्वर रहेको छ ।