नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

नेपाली चेली बेच्ने वडाध्यक्षलाई ३७ वर्ष जेल सजाय

ओखलढुङ्गान्युज, चैत ९ नुवाकोट ।
नुवाकोटवाट निर्वाचत भएका एक जनप्रतिनिधीलाई जिल्ला अदालतले ३७ वर्षको जेल सजाय सुनाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाअध्यक्ष सुनबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले यस्तो सजाय सुनाएको हो । तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।

नुवाकोटका जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाअध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । अध्यक्ष तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही दुई लाख ५० हजार जरिवानाको फैसला भएको अदालतले जानकारी दिएको छ ।

भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाडौं जिल्ला अदालतमा समेत दायर गरेको थियो । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दाका आरोपित अन्य तीन जना भने फरार छन् ।