नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

रामेछापको आधा भागमा खाने पानी अभाव

ओखलढुङ्गान्युज, चैत्र ६ रामेछाप ।
खडेरीले खानेपानीका मुहान सुकेपछि रामेछापका अधिकांश भूभागमा खानेपानीको अभाव भएको छ । रामेछापको पूर्वी–दक्षिण तथा कोशीपारी क्षेत्रमा खाने पानी अभाव भएको हो । खानेपानी अभावकै कारण यहाँका नागरिकहरु एक गाग्री पानीको लागि रातभर पधेरामा बस्न थालेका छन् ।

गाउँमा रहेका अधिकांश पानीका मुहान सुकेर बाँकी रहेका, धारा र कुवाहरुमा पनि पानीको सतह घटेपछि नागरिकहरुलाई समस्या भएको छ । रामेछापका देउराली, साँघुटार, हिमगंगा, रामपुर, ओख्रेनी, रामेछाप, सुकाजोर, मन्थली, भलुवाजोर, भटौली, चिसापानी, पुरानागाउँ, गेलु, सुनारपानी, सालु, कठजोर, पकरवास, भिरपानी, माकादुम, खाँडादेवीमा बस्ने अधिकांश स्थानियवासीहरु खोलामा बगेको प्रदुशित पानी पिउन बाध्य भएका छन् ।

जिल्लाका कतिपय स्थानहरुमा बस्दै आएका मानिसहरुको बिकल्प खानेपानीको समस्याकै कारण बसाइँसराइ समेत बन्दै गएको छ । पानीको अभावमा सबैभन्दा गृहिणी महिला र बालबालिका प्रभावित भएका छन् । गाउँमा पानीको आपूर्ति पूरा गर्नका लागि वैकल्पिक मुहान एउटा पनि छैनन् ।

रामेछाप खाडादेवी गाउँपालिका वडा नं. १ साविकको राकाथुम गाविसकी ६६ वर्षीया रणमाया श्रेष्ठ भन्नुहन्छ, ‘जन्मिकन यस्तो अभाव भएको थाहा पाएको यस वर्ष मात्रै हो । हुन त विगतका वर्षहरुमा पनि पानी कम नै पर्न थालेको थियो । यस वर्ष त झनै पानी परेन । यस वर्ष लगाएको हिउदे तथा वर्ष खेती फलेन ।’ श्रेष्ठ भन्नुहुन्छ, ‘अहिले खानेपानीको हाहाकार छ । छोराछोरी सबै काठमाण्डांै तिर छन् । यहाँ यो वुढेसकालमा पनि खानेपानीको जोहो गर्न एक घण्टाको वाटो डोको बोकेर धाईरहनु परेको छ । हाम्रो दुःखको कसलाई चासो र ?’

खाडादेवी गाउँपालिकाकै जलदेवी आधारभुत विद्यालयकी शिक्षिका सावित्रा श्रेष्ठको गुनासो पनि त्यस्तै छ । विहानै उठ्यो, दिनभरका लागि पानीको जोहो गर्नै प¥यो । विद्यालयवाट फर्केर पानी लिन जान भ्याईन्न । विहानै पानी ल्याएर खाना बनाएर खादा कहिलेकाही त विद्यालय पुग्न पनि ढिलाई हुन्छ । पानीको मुहान टाढा छ । विद्यालयमा पढ्ने बालबालिकाहरुको हालत त्यस्तै छ । विहानै उठेर पानी लिन जान्छन् । घर आएर खाना बनाएर खाएर विद्यालयमा ढिलै आउछन् ।

उता रामेछाप नगरपालिका वडा नं. २ साविकको साघुँटार गाविसकी सरस्वती श्रेष्ठको गुनासो पनि उस्तै छ । विगत देखी नै पानीको समस्या त छदैथियो । यो पटक टाढाको मुहानमा पनि पानी सुकेको छ । गाउँमा बसेपछि थोरै वस्तुभाउ पाल्नै प¥यो ।

सरस्वती भन्नुहुन्छ, ‘खानका लागि पानीको बल्लतल्ल जोहो गरे पनि वस्तुका लागि भने समस्या छ । त्यसैले खोलाको छेउमा गोठ बनाएर राखेका छौ । गाउँमा खाने पानी बैकल्पिक व्यवस्था नहुँदा बेसीमा सरेर बस्न बाध्य भएका छौ । पानी अभावकै कारण भुकम्पको अनुदान पाएपनि घर बनाउन अहिलेसम्म सकिएको छैन ।’

खोला किनारमा जमिन हुने त बेसीमा सर्ने, बेसी नहुने हरुलाई त झन समस्या भएको बताउँदै साँघुटार कै पम्फा श्रेष्ठ भन्छिन्– “बेसीमा हुनेहरुले सिधै खोलामा गएर पानीको समस्या सामधान गर्ने तर खोला भन्दा धेरै माथी हुनेहरुलाई त पानीको झनै समस्या भएको र उनिहरुले यातायातका साधनहरुमा राखेर गाउँसम्म लगेर पानी खाने गरेका छन् ।”

वर्षपिच्छे हुने पानीको समस्याको बारेमा सम्बन्धित निकायलाई जानकारी नभएको भने हैन । वर्षैपिच्छे खानेपानीको लागि भनेर लाखौ बजेट पनि विनियोजन हुन्छन् । तर पानीको समस्याका लागि दिर्घकालीन योजना विना विनियोजन भएको बजेट त्यसै सकिन्छ । समस्या भने ज्यू का तिउ नै ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ०७२ बैशाख १२ को विनासकारी भूकम्पले क्षतविक्षत बनाएको खानेपानीको मुहानहरुको पुनर्निमार्ण र खानेपानीको बैकल्पिक व्यवस्था नभएको ठाउँमा कोशी तथा खोला किनारमा इनार निमार्ण गरी विद्युतीय माध्यमबाट पानी लिफ्ट गर्ने योजना अघि सारेको छ ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका डिभिजन प्रमुख लोकबहादुर चौलागाईका अनुसार “अहिलेसम्म विद्युतीय माध्यमबाट पानी तान्ने १ दर्जनभन्दा बढी योजनाहरु सम्पन्न भइसकेका र अन्य आधा दर्जनभन्दा बढी योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् ।”