नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बालकृष्ण ढुंगेलको गीति एल्बम  ‘खाली खुट्टे’ सार्वजनिक हुदै

फायल तस्वीर

विवेश श्रेष्ठ, चैत ६ ओखलढुङ्गा ।

बालकृष्ण ढुङ्गेल, तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता तथा कुशल कमाण्डर । यो नाम नसुन्ने मान्छे र सुनेपछि नचिन्ने मान्छे कमै होलान् । उनी झण्डै पाँच महिनादेखी ओखलढुङ्गाका उज्जन श्रेष्ठको हत्या अभियोगमा डिल्लीबजार कारागार छन् ।

बेलाबेला ढुंगेललाई भेट्न गएका शुभचिन्तक मार्फत पार्टीका नेताहरुलाई सन्देश पनि पठाइरहन्छन् उनी । माओवादी केन्द्रको जनवर्गीय संगठनका नेताहरु हुल बाँधेर बेलाबेला ढुंगेललाई भेट्न गइरहन्छन् । भेट्न आउने नेताहरुसँग पार्टी र राजनीतिका बारेमा गफिदै उनको दैनिकी डिल्ली बजार कारागारमा बितिरहेको छ । सगै युद्ध लडेकाहरु सत्ता हाकी रहेका छन् । तर उनीभने जेलमा ।

ढुंगेललाई जसले जसरी चिनेपनि उनी गीतकार हुन् र उनका गीत चर्चित गायक, गायिकाले गाएका छन् भनेर कमैमात्र मान्छेलाई थाहा छ । यही चैत ८ गते बालकृष्ण ढुंगेलद्वारा रचित गीति एल्बम ‘खाली खुट्टे’ लाई सार्बजनिक गरिदैछ ।  बबरमहलको कार्की पार्टी प्यालेसमा उक्त गिती एल्बमलाई विमोचन गरिँदै छ । ओखलढुङ्गाका माओवादी केन्द्रका नेताहरुले कार्यक्रमलाई संयोजन गरेर ढुंगेलका गीत विमोचनको तयारी गरेका हुन् ।

एल्बमका गीतहरु ढुंगेल जेल चलान हुनु अगाडि नै लेखिएका हुन् । उनका गीतमा चर्चित गायिका अञ्जु पन्त, चेतन सापकोटा, शिव परियार, दीपक लिम्बु लगायतका गायक गायिकाले स्वर दिएका छन् । अञ्जु पन्तले युद्धमा ढलेको युवकको कथा समेटिएको गीत गाएकी छन् ।

‘जिन्दाबाद भनेर छोरो मेरो मुट्ठी उठाइ ढल्यो’ शीर्षकको गीतमा पन्तले स्वर दिएकी छन् । यसभन्दा अगाडी ढुंगेल आफैको रचना र स्वरमा केही रेडियोहरुमा रेडियो जिंगल निर्माण भई प्रसारण पनि भै रहेको छ ।