नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

अख्तियारको आयोजनामा ओखलढुङ्गामा अन्तरक्रिया सम्पन्न

ओखलढुङ्गान्युज, चैत ६ ओखलढुङ्गा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा आज ओखलढुङ्गामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार न्युनिकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननिय आयुक्त सावित्रि थापा गुरुङ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय ईटहरीका प्रदिप कुमार कोईरालाको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको कार्यपत्रमाथि छलफल गर्दै सहभागी स्थानीय तहका जनप्रतिनिधीहरुले पछिल्लो चरणमा अख्तियारले गरेको काम कार्बाही प्रति असन्तुष्टि समेत जनाएका छन् । अनियमितता गर्नेहरुलाई अख्तियारले कार्बाहीको प्रक्रिया अघि बढाउदा ठुला माछालाई छाडेर साना माछालाई मात्रै समात्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

अख्तियारमा उजुरी पर्दा सुशासनलाई कायम गर्न सम्बन्धित माथि कार्बाही गर्दा बास्तविकता बुझेर मात्रै कार्बाही गर्न र गलत कृयाकलाप नगर्नेको मानहानी हुने विषयलाई पनि बुझेर अख्तियारले कार्बाही अघि बढाउन सुझाव दिएका छन् ।

अन्तरक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भ्रष्टचार गर्नु एक किसिमको अपराध भएकोले कुनै पनि क्षेत्रमा काम गर्ने व्यक्तिले अनुशासन, इमान्दारी र नैतिकताका साथ पारदर्शी रुपमा आफ्नो कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

समाजमा हुने गरेका विकास निर्माणका काम प्रतिको ढिलाई तथा अपारदर्शीताको बारेमा सम्बन्धीत निकायमा जानकारी दिई कानुनी दायरामा ल्याउनका लागि सबैको महत्वपुर्ण भुमिका रहने भन्दै प्रमुख जिल्ला अधिकारी पन्तले भ्रष्टाचारीलाई बहिष्कार गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका कार्यालय प्रमुख, स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरुको पनि उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।