नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

दोश्रो कार्यकालका लागि सी जिनपिङ चिनियाँ राष्ट्रपतिमा निर्वाचित

ओखलढुङ्गान्युज, चैत ३ काठमाडौं । चीनको राष्ट्रपति पदमा सी जिनपिङ निर्वाचित भएका छन् । चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सी जिनपिङ नै फेरी निर्वाचित भएका हुन् ।

चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । नेसनल पिपुल्स कंग्रेसमा २९७० प्रतिनिधिले उनलाई मत दिएका थिए । पार्टीको विधानमा आफ्नो विचारधारा सम्मिलित गरेर र राष्ट्रपतिमा दुई कार्यकालको सीमा हटाएर शक्तिशाली बनेका सी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनी गत अक्टोबरमा चीनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए । सन् २००७ मा चीनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिएका सी छोटो समयमै सर्वाधिक शक्तिशाली नेता बन्न सफल भएका छन् ।

गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो । त्यस निर्णय सगै राष्ट्रपति सीलाई अनिश्चितकालसम्म राष्ट्रपति बन्ने संवैधानिक बाटो खुला भएको छ । केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका ६४ बर्षका सीले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ दि पिपुल्समा सपथग्रहण गरिसकेका छन् ।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्तराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको सीपीसीको महाधिवेशनमा अन्त्य गरेका थिए । त्यसपछि नै सी को कार्यकाल लम्विने स्पष्ट भएको थियो । संसदले सीका निकट मानिनु हुने भ्रष्टाचार विरोधी अभियन्ता वाङ चिसानलाई शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेका छन् । राष्ट्रिय जनकंग्रेसको १३ औ बैठकको पहिलो चरणमा सहभागी झण्डै तीन हजार सांसदहरुले उनलाई निर्वाचित गरेका हुन् ।