नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि आर्मीलाई  

ओखलढुङ्गान्युज, फागुन २९ झापा । शोमबार झापामा भएको झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । विजयी भएपछि उपाधिसँगै त्रिभुवन आर्मीले रु १२ लाख ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र हात परेको छ ।

घरेलु मैदानमा झापा ११ लार्ई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधिलाई दोश्रो पटक कब्जा गरेको छ । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो । यो जित सगै आर्मीले दुई वर्षमा ३ राष्ट्रिय उपाधि भित्र्याएको छ ।

पहिलो हाफ गोलरहित वरावरी रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरेका थिए । दोश्रो हाफमा पनि दुवै तर्फवाट थप एकएक गोल मात्रै भयो । निर्धारित समयमा अन्य गोल हुन नसकेपछि १५ मिनेट अतिरिक्त समय थप भएको थियो । थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइवेकरमा पुगेको थियो ।

टाइवेकरमा पनि ३-३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०-१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८-७ ले बाजी मारेको हो । झापाका गोल रक्षक किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो ।

उपविजेतामा सिमित बन्दै झापा ११ ले रु छ लाख नगदसहित ट्रफी हात परेको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बनेका छन् । उनले यामाहा कम्पनिको एउटा मोटरसाइकल प्राप्त गरे । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेनडर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए । उनीहरूले जनही रु ३१ हजार नगद प्राप्त गरे । झापाका कर्ण लिम्बु हाइएष्ट स्कोरर हुँदै रु ५१ हजार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए ।