नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

स्थानीय जनप्रतिनिधि विरुद्ध भ्रष्टाचारको मुद्दा ः १० महिना नवित्दै स्थानीय तह बदनाम

विवेश श्रेष्ठ, फागुन २८ ओखलढुङ्गा
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै आईतवार उजुरी दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा स्थानीयले फागुन २७ गते भ्रष्टाचार अभियोगमा उजुरी दर्ता गरेका हुन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको १० महिना नवित्दै जनप्रतिनिधीहरुको विरुद्धमा उजुरी दर्ता भएको छ ।

निर्वाचित जनप्रतिनिधी मात्र हैन, गाउँपालिकाका कार्यकारी प्रमुखको विरुद्धमा समेत उजुरी दर्ता भएको छ । नवनिर्वाचित गाउँपालिका प्रमुख नवराज केशी, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, लेखापाल मिलन लुइटेल, इञ्जिनियर नविन श्रेष्ठ र पूर्वाधार विकास समितिका संयोजक अजय लुइटेल विरुद्ध उजुरी दर्ता गरिएको हो ।

स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत छानविन गरेर कारवाही गर्न उजुरी दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालयले २०७४ फागुन २७ गते २ सय ८८ नम्बरमा उजुरी दर्ता गरेको जानकारी दिएको छ ।

उजुरीमा आर्थिक वर्ष ०७३÷०७४ को गाउँपालिका सञ्चालन अनुदानको खर्च सार्वजनिक नगरेको, विभिन्न ४ ओटा सडक आयोजनाहरुमा दाहोरो मुल्यांकन गरि भ्रष्टाचार गरेको, गाउँपालिकामा आवश्यक सामग्री तथा उपकरण सार्वजनिक खरिद ऐन विपरित खरिद गरेको लगायतका अभियोग रहेका छन् ।

त्यस्तै सडक निर्माण गर्दा प्रयोग गरेका स्काइभेटरको दररेट निर्धारण नगरी लगत स्टिमेटभन्दा फरक पारेर निर्माण गरी भुक्तानी दिइएको, सडक निर्माणका क्रममा विद्यालय भवन भत्काइएको र स्थानीय खोलामा गिट्टी बालुवा ठेक्का लगाउँदा किर्ते गरि स्वीकृत गरेको उनीहरुमाथि आरोप छ ।

सोही गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सुरेश कुमार थापाले गाउँपालिकामा भएको भ्रष्टाचार छानविन हुनु पर्ने बताउनुभयो । स्थानीय सरकारले नागरिकलाई सहज रुपमा सेवा दिनभन्दा आर्थिक अनियमितता गरेर कमाउ धन्दामा लाग्दा नागरिकमा विद्यमान व्यवस्थामाथि नै प्रश्न उठ्ने वडा अध्यक्ष थापाको भनाइ छ ।

गिट्टी बालुवा उत्खनन् तथा व्यापार अबैध तरिकाले भइरहेको भन्दै सोही गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तिलक खड्काले ०७४ माघ २९ गते प्रहरी चौकी फुलबारीलाई रोक्न पत्रचार गरेका थिए । तत्कालीन फुलबारी गाविसका पूर्व गाविस अध्यक्ष खड्गबहादुर कार्कीसहितका स्थानीयले सात बुँदामा गाउँपालिका प्रमुख सहितका व्यक्तिहरुले भ्रष्टाचार गरेको अभियोगमा उक्त ठेक्कामा समेत किर्ते गरेर भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।

भ्रष्टाचार अभियोगका विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले प्रकृया र नियम अनुसार काम भएको दावी गर्नुभयाे । कसैलाई व्यक्तिगत रुपमा चित्त नबुझेको हुन सक्ने भन्दै उजुरीको औचित्य नभएको उहाँको भनाइ छ ।

यस्ताे छ उजुरी 4