नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

मृगौला पीडित गुरुप्रसाद दाहाललाई सहयोगको याचना

ओखलढुङ्गान्युज, फागुन २८ ओखलढुंगा
ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ थाक्लेका २१ वर्षिय मृगौला रोगबाट पीडित युवा गुरुप्रसाद दाहाललाई उनको परिवारले सहयोगको याचना गरेका छन् । दुवै मृगौला खराब भएपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराईरहेका छन् ।

दाहाललाई गत पुष ११ गतेदेखि अस्पताल भर्ना गरिएको हो । दाहालको उपचारमा करिब २० लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । मृगौला प्रत्यारोपण पश्चात पनि उनलाई छ महिना सम्म मासिक ४० हजार खर्च लाग्ने अस्पतालको भनाई छ । मृगौला भने उनको बुवा हरिप्रसाद दाहालले नै दिने भएका छन् । तर घरको आर्थिक अवस्था कमजोर भएकोले सबै खर्च धान्न सक्ने अवस्था छैन ।

उनी वाल्मिकी क्याम्पस काठमाडौंमा संस्कृतका विद्यार्थी थिए । उनी परिवारका कान्छा छोरा हुन् । अस्पतालको शय्याबाटै उनले भने, ‘मलाई बचाउनका लागि तपाईहरुको सहयोग जरुरी छ । मैले बाँचेर समाजको लागि केही गर्छु भन्ने प्रण लिएको छु ।’ उनलाई सहयोग गर्नका लागि उनको मोबाइल नं. ९८२४७४१९९४ मा सम्पर्क गरि बैंक खातामा पैसा जम्मा गर्न सकिनेछ ।