नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुंगामा अनौठो शिशुको जन्म, हेर्नेको भिड

ओखलढुान्युज, फाल्गुन १३, ओखलढुङ्गा  
ओखलढुङ्गाको सामुदायिक अस्पताल मिसन सोब्रुमा अनौठो शिशुको जन्म भएको छ । मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) अनौठो जन्मिएकी हुन् ।

शिशुको टाउकोको दायाँतर्फको आकार निकै ठूलो छ । एउटा आँखा, नाक र मुख नै प्रस्ट देखिन्न । २ किलो ७ सय ग्रामको शिशुको अन्य शारीरिक अवस्था सामान्य छ । आमाको स्वास्थ्य समेत सामान्य रहेको अस्पतालले जनाएको छ ।

अहिले शिशुलाई इन्कुवेटरमा राखेर पाईपमार्फत आमाको दूध खुवाएर राखिएको छ । बच्चाको अवस्था हेर्दा आमाको पेटभित्रै बच्चालाई ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् ।

शिशुलाई केही दिनपछि काठमाडौं रिफर गरिने मिसन अस्पतालका चिकित्सक (एमडीजीपी) सञ्जय पोख्रेलले बताउनुभयो । डा. पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो या होइन भन्ने थाहा हुन्छ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने पनि पोखरेलले बताउनुभयो ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारीरिक अपांगता भनिन्छ । ढिलो उमेरमा आमाले बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधिको प्रयोग र गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनाले यस्तो शिशुको जन्म हुने गरेको डा।पोख्रेलले बताउनुभयो । अस्पतालमा अनौठो शिशुको जन्मभएपछि अस्पतालमा अहिले शिशुलाई हेर्नेहरुको भिड लाग्न थालेको छ ।