नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अझै परेन पानी, लामो खडेरीले खेतीयोग्य जमिन बाँझैं

ओखलढुङ्गान्युज, फागुन ११, ओखलढुङ्गा ।
गहुँ र तोरी लगाउने खेतवारीहरुमा यतीखेर हरिया र पहेलै हुने समय । गहुँ, तोरी र आलु लगाएत हिउँदमा लगाईने बालीले हरीयाली देखीने समय । तर लामो समय सम्म खडेरी परेपछि ओखलढुंगाका सयौं रोपनी खेती योग्य जमिन बाँझैं रहेका छन । वर्षाको धान कोदो भित्राएपछि खेति लगाउनुपर्ने जमिन अहिले बाझै छन् ।

यो भेग अन्तर्गतका टारी तथा वेंसीखेतमा डुडें, माटे–साठी र सिस्नेबेंसीमा खेत हुनेहरुलाई पहिले सम्पन्न, धनी ठान्ने चलन समेत थियो । वेंसीखेतमा धान तथा पाखाखेतमा मकै राम्रो फल्ने भएका कारण यहाँ खेती धेरै हुनेहरुलाई छोरी दिने चलन समेत थियो केही वर्ष अगाडी सम्म । तर अहिले यो सवै सपना जस्तै भएको छ । लामो समय सम्म खडेरी परेका कारण यहाँका सबै खेतीयोग्य जमिनहरु बाँझैं छन् ।

तस्वीर : मनाेज भट्टराइ

केही वर्ष अगाडी साठीबेसी र सिस्नेबेसी सिंचाईकालागी सिंचाई कुलो खनीएको भए पनि मुहानबाट तल पानी नगएकोले खेतहरु बाँझैं छाड्नुपर्ने बाध्यता रहेको यहाँका किसानहरुको भनाई छ । समयमै जोत खन गरेर पनि सिंचाई नभए पछि जेठ लागेपछि मकै रोप्नु भन्दा अरु उपाय नभएको कृषकहरुले बताएका छन् ।

लिखु गाउपालिकका लिखु नदि आसपासका क्षेत्रहरुमा रहेका खेतीयोग्य जमिनमा उचित तापक्रमको कारणले गर्दा मनग्गे धान तथा मकै र अन्य हिउँदे वाली उत्पादन हुने गर्दथ्यो । धान, मकै गहुँ, आलु खेतीका लागि यो क्षेत्रकै चर्चित ठाउ“ भए पनि खडेरीका कारण किसानहरुले अहिले सम्म बाँझै राखेका छन् ।

खडेरीका कारण जिल्लाका सुख्खा ग्रस्त क्षेत्रहरु सुनकोसी गाँउपालीकाका बलखु, सिस्नेरी, चम्पादेवीको पलापु, लिखुको सिंहदेवी, नर्मदेश्वर तथा मानेभञ्ज्याङ्गको थाक्ले, टोक्सेल हर्कपुर लगाएतका स्थानहरुमा खानेपानीका मुहान समेत सुक्न लागेका छन् ।