नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अाज खग्रास चन्द्रग्रहण लाग्ने 

 
 
ओखलढुङ्गान्यज, माघ १७ काठमाडौं 
आज बुधवार साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ । ५ बजेर ३२ मिनेट देखी सुरु हुने यो ग्रहण काठमाडौंमा भने ५ बजेर ५५ मिनेट देखि देख्न सकिने नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक जयन्त आचार्यले बताउनुभयो । नेपालमा आज ग्रहण लागेरै चन्द्रमा उदाउनेछ । यसलाई ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ।
 
बुधबार साँझ लाग्ने खग्रास चन्द्रग्रहण ७ बजेर १६ मिनेटमा मध्य हुने र राति ८ बजेर ५७ मिनेटमा सकिने पञ्चाङ्गहरूले उल्लेख गरेका छन् । आचार्यका अनुसार यो चन्द्रग्रहण जापान, कोरिया, चीन, मलेसिया, थाइल्याण्ड तथा अष्ट्रेलियाको सिड्नीबाट अन्त्यसम्म देख्न सकिनेछ ।
 
दक्षिण अमेरिकाको ब्रालिजलगायत मुलुक र अफ्रिकाका पश्चिमपट्टिका केही देशका नागरिकले भने यो ग्रहण हेर्न पाउने छैनन् । पौराणिक मान्यता अनुसार चन्द्रग्रहण लाग्नु तीन प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने पं. बालमुकुन्द देवकोटा बताउनुहुन्छ । बुधबार बिहान ८ बजेर ५५ मिनेट सम्म खाना खाइसक्नुपर्ने पञ्चांगहरूले उल्लेख गरेका छन् । 
 
लेखिएको छ, ‘बालक, वृद्ध र बिरामीहरूका लागि छुट छ।’ ग्रहणको समयमा सुत्ने, खाने र मैथुन गर्नेलगायतका काम वर्जित गरिएका छन् । ‘ग्रहणका बेला स्नान, जप, हवन, पाठ– पारायण आदि गर्नाले अरु बेलामा गरेको भन्दा बढी फल प्राप्त हुने पुराणहरूमा बताइएको छ’, पं. देवकोटा भन्नुहुन्छ । 
 
बुधबार लाग्ने ग्रहणले तिष्य, अश्लेषा नक्षत्र र कर्कट राशि भएका व्यक्तिहरुलाई अतिकष्ट हुने बताइएको छ । मेष–व्यथा, वृष–श्रीप्राप्ति, मिथुन–क्षति, कर्कट–घात, सिंह–व्यय, कन्या–लाभ, तुला–सुख, वृश्चिक–माननाश, धनु–कष्ट, मकर–स्त्रीपीडा, कुम्भ–सुख र मीन–चिन्ताको फल ज्योतिषीहरूले बताएका छन् । 
 
ग्रहण औंसी र पूर्णिमामा लाग्छ । सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा । खगोलशास्त्र वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ । 
 
सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । चन्द्रग्रहण पृथ्वी चन्द्रमा र सूर्यको बीचमा परेको अवस्थामापृथ्वीको छाया चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो । चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ । खग्रास र खण्डग्रास गरी ग्रहण दुई प्रकारको हुन्छ । पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ ।