नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गा सेवा समाजको एम्बुलेन्स सहयोग हस्तान्तरण

विवेश श्रेष्ठ, माघ १६, ओखलढुङ्गा

ओखलढुङ्गा सेवा समाज कतारले आज एक कार्यक्रमको आयोजना गरि ओखलढुङ्गामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । ओखलढुङ्गा सेवा समाज कतारले ओखलढुङ्गा सेवा समाज नेपाललाई आज एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

नेपालमा जन्म भै रोजगारीको शिलशिलामा प्रवास कतारमा रहेका ओखलढुङ्गेली युवाहरुले आफ्नो गासलाई कटाएर जम्मा गरेको रकमवाट एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो । ओखलढुङ्गाका अब प्राय सबै गाँउपालिकाका वडाहरुमा सडक सञ्जाल जोडिएको छ । सडक सञ्जाल जोडिएसगै नागरिकहरु सडक तथा यातायातसँगको पहुचमा पुग्न अब ओखलढुङ्गामा सफल भएका छन् ।

विगतमा सडक तथा यातायातको पहुँच नहुदा धेरैले अस्पतालको अनुहार नै नदेखी अकालमा ज्यान गुमाउनु परेको थियो । अबका दिनमा यातायात कै कारण कुनै पनि प्रकारका बिरामीहरुको अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था नआओस भनेर आफुहरुले एम्बुलेन्स हस्तान्तरण गरेको ओखलढुङ्गा सेवा समाज कतारका अध्यक्ष कुमार तामाङले बताउनुभयो ।

सडम मात्रै भएर नागरिकहरुले सबै सेवा सुबिधा पाउन सक्दैनन् । गाँउमा सडक पुगेपछि अबका दिनहरुमा स्वास्थ्यमा पनि पहुँच पुगोस भन्ने हेतुले एम्बुलेन्स सहयोग गरिएको हो । चाडै ओखलढुङ्गाका सबै गाँउपालिकाहरुमा पनि एक एक ओटा एम्बुलेन्स प्रदान गर्ने लक्ष्य सेवा समाज कतारले लिएको पनि अध्यक्ष तामाङले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा ओखलढुङ्गावाट प्रतिनिधीसभामा निर्वाचित सांसद यज्ञराज सुनुवारले सहयोगी हातहरुप्रती हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसैगरि मातृभूमिप्रतिको माया र समाज सेवालाई कायम राख्न प्रवासी नेपालीहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा पूर्व सांसद रामहरि खतिवडा, जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठ,सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्ने सबैले विदेशी भूमिमा रहेर पनि आफ्नो परिवारको सुख र गाँसलाई कटाएर जिल्लाको समस्यालाई बुझी एम्बुलेन्स प्रदान गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा संस्थाको निरन्तर प्रगतीको लागि शुभकामना व्यक्त गरेका थिए ।

ओखलढुङ्गा सेवा समाज कतारका अध्यक्ष कुमार बहादुर तामाङ लगायतका अन्य अतिथिहरुले संयुक्त रुपमा एम्बुलेन्सको चावी ओखलढुङ्गा सेवा समाज नेपालका अध्यक्ष नवराज श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।