नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीको कब्जामा, अभागी एपीएफ

ओखलढुङ्गान्युज, माघ २ कैलाली ।

शोमबार सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले आफ्नो पोल्टामा राखेको छ । फाइनल खेलमा आफ्नो प्रतिद्वन्द्वी अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजय गर्दै आर्मीले प्रतियोगीताको उपाधी चुमेको हो ।

आर्मीले एपिएफलाई पेनाल्टी सुट आउटमा चारगोलका विरुद्ध पाँच गोलले पराजित गरेको हो । निर्धारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत् निकालिएको थियो । उपाधिसँगै आर्मीले ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

एपिएफका सुदीप सिन्ग्राकारले हानेको प्रहार खम्बामा लागेर फर्किएपछि एपिएफले उपविजेतामा चित्त बुझाउन बाध्य भएको हो । एपिएफले पाँच लाख ५५ हजार ५ सय ५५ मा चित्त बुझाएको छ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातार दुई खेल खेल्दा विपक्षीले राम्रो खेले पनि पेनाल्टीमा भाग्यले साथ दिएका कारण उपाधि चुमिएको बताए । एपिएफएका प्रशिक्षक रत्नकाजी महर्जनले राम्रै खेले पनि पाएका केही मौका चुकाउँदा पेनाल्टीमा खेल गुमाइएको बताए।

प्रतियोगिता अवधिभर आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै पुरस्कारस्वरुप यामाहा मोटरसाइकल पाए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपिएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राइजिङ प्लेयर सुदूरपश्चिम–११ का गोलकिपर अमानत शेखलाई घोषणा गरिएको छ । सबै विधाका उत्कृष्ट खेलाडीले जनही १५ हजार पुरस्कार पाएका छन् ।

गत पुस २१ गतेदेखि सुरु भएको प्रतियोगितामा ए डिभिजनका १२ टोलीको सहभागिता थियो । सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा अर्को वर्ष झन्डै दोब्बरले वृद्धि हुने घोषणा गरिएको छ । तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख पुरस्कार दिइने आयोजकले समापन समारोहमा घोषणा गरेको छ ।