नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बढ्यो चिसो, विहिवार वर्षकै सबैभन्दा चिसो

ओखलढुङ्गान्युज, पौष २१ काठमाडौं ।
विहिवार वर्षकै सबैभन्दा चिसो दिन भएको छ । गएराति आकाश खुलेकाले चिसो बढेको मौसमविदले बताएका छन् । विहिबार बेलुका भएपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल नबनेकाले आकाश खुलेको र देशभरि नै चिसो बढेको मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।

मौसमविद पोख्रेलका अनुसार राति आकाश खुला भएपछि बिहान पर्ने शीत र तुसारोका कारण चिसो बढ्छ । तर राति बादल लागे न्यानो बढ्छ । अहिले चिसो बढेपछि देशभरि कै जनजीवन प्रभावित भएको छ । चिसाका कारण तराईमा शितलहर र हिमालमा हिमपातका कारण मानविय जनजीवन कष्टकर बनेको छ ।

काठमाडौंको बिहीबार बिहानको न्यूनतम तापक्रम यो वर्षकै कम एक दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव २ र जीरीको माइनस २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० डिग्रीमा झर्दा अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो अझै बढ्ने मौसमविद पोख्रेलको भनाई छ । पश्चिमी वायुको प्रभावले बिहीबार पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनुका साथै केही ठाउँमा हिमपातको संभावना रहेको उहाँले जानकारी दिनुभयो । देशैभर चिसो बढेसगै चिसोको कारण हुने रोगहरु मानिसमा देखा पर्न थालेको छ ।