नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधी अभाव

ओखलढुङ्गान्युज, पौष ११ ओखलढुङ्गा ।
देशैभरि चिसो बढेसगै चिसोका कारण लाग्ने विरामीहरुको संख्यामा बृद्धि भएको छ । बिरामीको संख्या बढ्दै जादा ओखलढुंगाका स्वास्थ्य संस्थाहरुमा भने सरकारले दिने निशुल्क औषधी अभाव भएको पाईएको छ । औषधी अभाव भएपछि औषधी उपचार गर्न स्वास्थ्य संस्थामा आएका विरामी रित्तो हात फर्किने गरेका छन् ।

गाउँका धेरैजसो स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुँदा उपचार गर्न आउने विरामीहरु स्वास्थ्य परिक्षण गरेर औषधी किन्न निजि क्लिनिक जाने गरेका छन् ।

ओखलढुंगाको रुम्जाटार जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र ५४ स्वास्थ्य चौकीमा सरकारले निशुल्क बाड्ने औषधी अभाव भएको हो । दुई महिना अघिबाटै औषधी अभाव भएको हो । जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भए पनि खरिद नहुदा समस्या भएको हो ।

सोच नेपाल, पारस्परिक जवाफदेहिता परियोजनाले गरेको अध्ययन तथा छलफलका क्रममा स्थानीय तहमा औषधी खरिदका लागि न्यून बजेट आएको र खरिद प्रकृया झन्झटिलो भएका कारण खरिद प्रकृया अघि बढ्न नसकेको पाइएको छ । औषधी खरिद गर्न स्थानीय तहले झन्झटिलो प्रकृया, न्यून बजेट लगायतका कारणले अन्यौलता बढेको देखिएको छ ।

मोलुंग गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमका अनुसार प्रकृयागत झन्झट र बजेट निकासा लगायतका कारण खरिदमा समस्या भएको हो । ओखलढुङ्गा सदरमुकामवाट अलिक टाढा मानिएको लिखुगाँउपालिका स्वास्थ्य प्रमुख हेल्थ असिस्टेण्ट दिनानाथ चौधरीले नियमित औषधीको डोजलाई घटाएर औषधी धानिरहेको बताए ।

स्थानीय तहले खरिदको तयारी गरे पनि तीन महिनादेखी स्थानीय स्वास्थ्य संस्थामा औषधी अभाव भइरहेको छ । नेपाल सरकारले अनुदानमा पाउँदै आएको परिवार नियोजनाका साधन तथा औषधी अहिले कुन निकायले कसरी दिने भन्ने अन्यौलता हुँदा गाउँमा थप समस्या समेत आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।