नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास तिङ्लामा असफल

ओखलढुङ्गान्युज डटकम, मंशिर ७, सोलुखुम्बु ।
स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुको तिङलावासीहरुमा फुट ल्याएर आफ्नो पक्षमा भोट बढाउने दलहरुको प्रयास यसपटक पनि असफल भएको छ । तिङ्लामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनले मंसिर ६ र ७ मा अलगअलग चुनावीसभा गर्ने कार्यक्रमको तयारी गरेका थिए । तर, मंसिर २ मा गाउँको आमभेला बस्यो र यसपटक पनि ‘नो भोट’ अभियान कायमै राख्ने तिङ्लाबासीले लिखित निर्णय ग¥यो।

स्थानीय तहको सीमांकनप्रति असन्तुष्टि जनाउँदै तिङ्ला विद्रोह भयो । उनीहरुले गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा ‘नो भोट, नो क्याण्डिडेट’ अभियान सफल बनाए । अब उम्मेदवारहरु भोट माग्न तिङ्लामा जाने छैनन् र करिब ३१ सय मतदाताले निर्वाचन बहिस्कार गर्नेछन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्म आइपुग्दा केही दल र उम्मेदवारले तिङ्लाबासीबीच फुट ल्याउन ठूलै प्रयास गरेका छन् । तर, आमभेलाले चुनावमा भोट हाल्नुपर्छ भन्ने केही व्यक्तिको स्वरलाई समेत खारेज गरेपछि यसपटक पनि तिङ्लाले ‘नो भोट’ गर्ने भयो । वर्षमा एकपटक मनाई बडादशैको चाड झै सिंगो मुलुक प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चटारोमा रहेका बेला तिङ्ला यतिवेला पनि सुनसान छ ।

स्थानीय तह पुनर्संरचनाको बेला आफूहरुलाई पायक पर्ने सोलु दूधकुण्ड नगरपालिकामा नराखी ६ घण्टा टाढा जानुपर्ने नेचासल्यान गाउँपालिकामा राखिएदेखि तिङ्लाबासी आन्दोलित छन् । यसक्रममा धेरेले जेलनेल पनि भोगे । स्थानीय चुनाव बहिस्कार गर्ने क्रममा कांग्रेस नेता बलवहादुर केसीले संघर्ष समितिका संयोजक बालकुमार कार्की सहितलाई २८ दिन थुनाए ।

तर, पनि तिङ्लाबासीले माग पूरा नभएसम्म कुनै पनि चुनावमा भाग नलिने अडान कायमै राखेका छन् । यसपटक ‘नो भोट’ तोडाउने सचेत प्रयास नभएको होइन । मंसिर २ को भेलामा स्थानीय कांग्रेस नेता दत्तसिंह कार्की लगायतले मतदान प्रक्रियामा सहभागी हुनुपर्ने प्रस्ताव पनि राखे । तर, आमभेलाले अस्वीकार गर्योस । प्रदेशसभाका कांग्रेस उम्मेदवार प्रकाश सिंह कार्कीका धेरै नातागोता तिङ्लामा रहेका कारण उनले नो भोटबाट ब्याक गराउन हरसम्भव प्रयास गरिरहेका छन् ।

कार्की तिङ्लासँगै जोडिएको सल्यानका बासिन्दा हुन् । तर, धेरै नातागोता तिङ्लामा छन् । तिङ्लाले नो भोट गर्दा आफूलाई घाटा पर्ने विश्लेषणका आधारमा उनले आफू निकट केही व्यक्तिलाई आमभेलामै मतदानको पक्षमा बोल्न लगाएको स्थानीयले बताएका छन् ।