नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मधुमेहका कारण मिर्गौला रोगदेखि आँखाको ज्योतिसमेत गुम्नसक्छ

सन्दर्भ : विश्व मधुमेह दिवस

कात्तिक २९,

मधुमेहलाई सामान्य बोलिचालीमा चिनीरोग भनेर चिनिन्छ । मधुमेहको समयमा नै उपचार गरिएन भने अन्य स्वास्थ्य समस्या पनि देखिने हुनाले धेरै सचेत हुनुपर्छ । मानिसको अकालमानै मृत्यु हुने प्रमुख कारणमध्ये मधुमेह पनि प्रमुख हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण हाल मधुमेहको समस्या बढ्दो क्रममा रहेको छ । हृदयघातको प्रमुख कारण पनि मधुमेह बनेको छ । मधुमेहलाई समयमानै नियन्त्रण गरिएन भने अन्धोपना, मिर्गौलामा खराबी, खुट्टामा घाउ सन्चो नभई खुट्टा काट्नुपर्ने अवस्था समेत हुन्छ ।

मधुमेहबाट हुने जोखिमहरुलाई न्युनीकरण गर्नैकै लागि प्रत्येक वर्ष नोभेम्बर १४ तारेखका दिन विश्व मधुमेह दिवस मनाउने गरिएको छ । यस वर्ष महिला र मधुमेह स्वस्थ भविष्य हाम्रो अधिकार भन्ने नाराका साथ यो दिवस मनाईएको छ । केही समय अघिसम्म हुनेखानेलाई मात्र लाग्ने रोग भनेर चिनिएको मधुमेह रोग हिजोआज न्युन आय भएकाहरुलाई समेत देखिन थालेको छ । धनी मुलुकमा भन्दा गरिब मुलुकमा मधुमेहबाट हुने मृत्युको दर धेरै रहेको तथ्याङ्कहरुबाट देखिएको छ ।

नेपालमा कति छन् मधुमेहका बिरामीहरु विकसित देशका ४० वर्षमाथिका मानिसहरुमा मधुमेहको समस्या धेरै देखिने भए पनि हाम्रो देशमा ३० वर्षकै उमेरमा मधुमेह देखिने गरेको छ । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा धेरै मानिसलाई यो रोग लाग्ने गरेको पाइन्छ । निष्क्रिय जीवनशैली भएका, मोटोपन, उच्च रक्तचाप भएका मानिसहरुमा मधुमेहको समस्या बढी हुन्छ । नेपालमा मात्र वर्षेनी १५ लाख मानिस मधुमेहबाट प्रभावित हुने गरेको अनुमान छ ।

शहरी क्षेत्रका भने झन्डै २० प्रतिशत मानिसहरु मधुमेहबाट पीडित छन्। नेपालमा पुरुषलाई भन्दा महिलालाई मधुमेह धेरै हुने गरेको छ। स्वास्थ्यमा महिलाको पहुँच कम हुनुका साथै गर्भावस्थामा देखिने मधुमेहलाई नियन्त्रण गर्न नसक्नु, मोटोपन हुनु नै महिलालाई मधुमेह देखिनुको प्रमुख कारण हो ।

के हो मधुमेह ?

सामान्य भाषामा मधुमेह भन्नाले रगतमा चिनीको मात्रा बढ्नु हो । हामीले खाएको खाना शरीरमा पुगेर ग्लुकोजमा परिणत हुन्छ र रगतमा पुग्दछ । यसरी ग्लुकोजलाई रगतमा पुर्या उने काम इन्सुलिनको हो । प्यान्क्रियाजले इन्सुलिन कम उत्पादन गर्दा ग्लुकोज रगतमा घुल्न नपाउँदा मधुमेह रोग देखापर्छ । मधुमेह दुई प्रकारका हुन्छन्स् टाइप वान र टाइप टु । टाइप वान भनेको इन्सुलिनमा भर पर्ने मधुमेह हो ।

यो प्रकारको मधुमेह इन्सुलिन उत्पादन गर्न नसकेको अवस्थामा देखा गर्छ । विशेषत यो प्रकारको मधुमेह ३० वर्ष मुनिका युवाहरुमा देखिन्छ । यसको उपचार भनेको इन्सुलिन सुईको प्रयोग र उचित खानपिन नै हो । नियमित व्यायाम यसको अर्को उपचार विधि हो ।

त्यस्तै टाइप टू मधुमेह सबैलाई लाग्न सक्ने रोग हो । टाइप वान भन्दा यो मधुमेह सहजै मानिसमा लाग्न सक्छ। टाइप टु मधुमेह इन्सुलिनको आवश्यकता अनुसार काम गर्न नसक्दा लाग्ने रोग हो । यसलाई इन्सुलिन प्रतिरोध पनि भनिन्छ । सुरुमा प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गरे पनि पछि सोही मात्रामा इन्सुलिनको उत्पादन हुन सक्दैन । गर्भवती महिला र विलासी जीवनशैली भएकालाई लाग्छ मधुमेह ।

यो रोग विशेषगरी मोटो व्यक्ति, कम्मर र पेटमा बोसो जम्मा भएका, व्यायाम नगर्ने व्यक्तिलाई लाग्न सक्छ । यस रोग लाग्नुको अर्को महत्वपूर्ण कारण वंशाणुगत पनि हो । घर परिवारमा बाबुआमा कसैलाई मधुमेह छ भने छोराछोरीमा पनि हुने सम्भावना धेरै हुन्छ । त्यस्तै धेरै तनाव लिने, विलासीपूर्ण जीवनशैली भएका, धुमपान गर्ने व्यक्तिलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ ।

त्यस्तै गर्भवती महिलाहरुमा पनि धेरै मधुमेह देखिन सक्छ । प्रत्येक सातवटी गर्भवती महिलामध्ये १ गर्भवती महिलामा मधुमेह देखिन्छ । गर्भ अवस्थामा देखिने मधुमेह राम्रो उपचार गरेमा पछि जन्मने बच्चा र आमा दुवैमा मधुमेह देखिन सक्छ ।

विश्वमा वर्षेनी २ करोड महिलाको मृत्यु मधुमेहकै कारण हुने गर्छ । नेपालमा पनि महिलाको मृत्युको एक प्रमुख कारणमध्ये मधुमेह पनि हो । मधुमेहका लक्षण छिटो छिटो पिसाब लाग्ने, बढी तिर्खा लाग्ने, धेरै भोक लाग्ने, आँखा तिरमिराउने, शरीरको वजन घट्दै जाने, थकाई आलस्य र कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, हात खुट्टा झमझमाउनु मधुमेहको लक्षण हो ।

त्यस्तै रिंगटा लाग्ने, पिसाबमा कमिला लाग्ने, मुख सुक्खा हुने, शरीरमा देखा परेका घाउ खटिरा सन्चो नहुने, छिटो छिटो पिसाब लाग्ने, राति धेरै पिसाब लाग्ने जस्ता लक्षणहरु पनि देखिन्छ । यस्तो लक्षण देखिएमा रगत जाँच गराएर मधुमेह लागे नलागेको परीक्षण गर्नुपर्छ ।

उपचार नगरे आँखाको ज्योतिदेखि मिर्गौला फेलसम्म

यदि मधुमेहलाई समयमानै उपचार गरिएन भने यसले शरीरका महत्वपूर्ण अंगलाई असर गर्छ । लामो समयसम्म मधुममेहलाई नियन्त्रण नगरेमा आँखाको ज्योति गुम्ने सम्भावना धेरै हुन्छ । रगतमा देखिने अत्यधिक चिनीको मात्राले आँखाको पर्दालाई ‍असर गर्ने गरी रगत जम्छ । यसको असरले आँखा च्यातिने र अन्धोपनमा हुन्छ ।

नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ प्रतिशत रहेको छ। यस्तै मधुमेहले हाम्रो मिर्गौलालाई समेत असर गर्छ । लामो समयसम्म मधुमेहलाई नियन्त्रण गरिएन भने मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल समेत गराउँछ ।

मधुमेहकै कारण मिर्गौला फेल हुने सम्भावना पाँच गुणा बढी हुने गर्छ । यसका साथै मधुमेहले मुटु हृदयघात, मश्तिष्कघात, पक्षघात हुने सम्भावना समेत धेरै हुन्छ। यस्तै मधुमेहले हात खुट्टाका नशामा समेत असर गर्छ, शरीरमा देखा परेका घाउहरु सन्चो नहुने र खुटामा काटनुपर्ने सम्भावना बढाउँछ ।

बर्षमा एकपटक रगत जचाऔं, जीवनशैली बदलौं

केही समय अघिसम्म हुनेखानेलाई मात्र लाग्ने रोग भनेर चिनिएको मधुमेह रोग आजभोलि न्युन आय भएकाहरुलाई समेत देखिएन थालेको छ । मधुमेहकै कारण हुने मृत्युको दर धनी मुलुकमा भन्दा गरिब मुलुकमा बढी छ । मधुमेह रोगको मुख्य कारण खानपान र जीवनशैली नै भएकाले यसबाट बच्नको लागि जीवनशैली बदल्न आवश्यक छ ।

नियमित शारीरिक व्यायाम गर्ने, मोटोपनलाई नियन्त्रण गर्ने, गर्भावस्थामा मधुमेह देखिएमा समयमा नै चिकित्कलाई देखाउने, जंक फुड कम खाने, तनाव कम लिने, वर्षमा एक पटक रगतमा चिनीको मात्रा जाँच गर्ने, रकतचाप नियन्त्रण गर्ने गरेमा मधुमेहको सम्भावना कम हुन्छ। एकैपटक धेरै खानेकुरा खानु भन्दा छिटो छिटो खानेकुरा खाने, हरिया सागसब्जी दूध, दही र कम कार्बोहाइड्रेड भएका खानेकुरा खाने, सकेसम्म रातो मासु नखानु पनि मधुमेहबाट बच्ने उत्तम उपाय हो।

 

डा. ज्योति भट्टराई
उनी मधुमेह रोग विशेषज्ञ हुन् ।

 

श्रोत : थाहाखबर