नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

पहिलो चरणको निर्वाचनका लागि मतपत्र छपाईको काम सकियो

मतदान केन्द्रमा ३ दिनअगावै मतपत्र पुगिसक्ने

ओखलढुङ्गान्युज डटकम कात्तिक २२, काठमाडौं
मतदान हुने तीन दिन अगाडी नै मतदान केन्द्रमा निर्वाचन सामाग्री पु¥याउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन हुने हरेक मतदान केन्द्रमा मतपत्र सहित ६२ प्रकारका निर्वाचन सामग्री पुर्यानउने भएको छ । देशभर कुल १९ हजार ८ सय ९ मतदान केन्द्र छन् । पहिलो चरणमा १० मंसिरमा ३२ जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन सामग्री मतदान हुनुभन्दा तीन दिनअघि नै सम्बन्धित केन्द्रमा पु¥याइने छ । निर्वाचन सामग्री अन्तर्गत मतपत्र, अनुसूची फाराम, कपडा, स्ट्याम्प प्याड, स्वस्तिक चिह्न, मसी, सियोधागो लगायत सामाग्रीहरु पर्छन् ।

मतपेटिका भने स्थानीय निर्वाचनमा प्रयोग भएकाबाटै काम चलाइनेछ । आयोगका प्रबक्ता ढकालका अनुसार सशस्त्र, सेनाको ट्रक र आवश्यक परेको खण्डमा हेलिकोप्टर समेत प्रयोग गरी निर्वाचन सामग्री ढुवानी भै रहेको छ । उनका अनुसार सडक सञ्जालले नजोडिएको विकट क्षेत्रमा निर्वाचन सामग्री हेलिकोप्टरमार्फत लगिनेछ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामध्ये कतिपय जिल्लामा निर्वाचन सामग्री लगिसकिएको छ । केही जिल्लामा भने बाँकी छ । ढकालका अनुसार पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमध्ये मतपत्रलगायत सामग्री पुग्न बाँकी रहेको जिल्लामा आगामी २७ कात्तिकभित्रै सामाग्री पुग्ने गरी काम भइरहेको छ । जिल्लामा निर्वाचन सामग्री पुगेपछि मतदान केन्द्रमा लगिनेछ ।

निर्वाचन आयोगले हाल पहिलो चरणको निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली गरी दुवै चरणको मतपत्र छापिसकेको छ । प्रत्यक्षको मतपत्र अलगअलग हुनुपर्ने अदालतको आदेशपछि आयोगले सोहीबमोजिम मतपत्र छापेको हो । हाल दोस्रो चरणअनुरूप २१ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम जारी रहेको पनि आयोगले जनाएको छ ।

मतपत्र छाप्ने काम जनक शिक्षा सामग्रीको छापाखानामा भैरहेको छ। देशभर १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाता रहेको आयोगले जनाएको छ । दुवै चरणको र दुवै निर्वाचन प्रणालीका लागि ३ करोड ४० लाखको हाराहारीमा मतपत्र छाप्नुपर्नेछ ।