नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा ज्ञानेन्द्रकाे कांग्रेस ‘सफा अभियान’

ओखलढुङ्गान्युज डटकम, कात्तिक १६ ओखलढुङ्गा ।

चुनावको मिति नजिकिए सगै ओखलढुङ्गामा पनि उमेद्वारहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । प्रचारप्रसारलाई तिब्रता दिएसगै टिकट वितरणमा पार्टी केन्द्रको निर्णय विरुद्ध विद्रोह गरेका ओखलढुङ्गाका दर्जन बढी काँग्रेस नेताहरु बागी उम्मेदवारका प्रचारमा खटिएका छन् । निर्वाचन क्षेत्र १ (ख) मा काँग्रेसले (क) क्षेत्रका नेतालाई टिकट दिएपछि विद्रोह गरेका प्रभावशाली नेताहरु वागी उम्मेदवार ज्ञानेन्द्र रुम्दालीको प्रचारमा खटेका हुन् ।

ओखलढुंगाको ख क्षेत्रमा दर्जनौं नेताहरु भए पनि क्षेत्र क का जिल्ला सभापति प्रदिपकुमार सुनुवारलाई काँग्रेसले उम्मेदवार बनाएको छ । यो निर्णयसँगै पार्टी जिम्मेवारीबाट हटेको घोषणा गरेका नेताहरुले अहिले बागी उम्मेदवारको प्रचारलाई आक्रामक रुपमा अघि बढाएका हुन् । रुम्दालीको टोलीले लिखु गाँउपालिकावाट प्रचारात्मक अभियान सञ्चालन गरेका हुन् ।

काँग्रेसको क्षेत्र ख का युवा नेता ज्ञानेन्द्र रुम्दाली प्रदेश प्रतिनिधी सभा सदस्य पदमा भर्याङ चिन्हबाट चुनावी मैदानमा उत्रिएका छन् । रुम्दालीको समर्थनमा पूर्व जिल्ला सभापति सचिव तथा महासमिति सदस्यहरुले काँग्रेसमा ‘सफा अभियान’ चलाएका छन् । कांग्रेसभित्र फोहोर रहेको भन्दै उनीहरुले फोहोर हटाउन विद्रोही उम्मेदवारी दिएर सफा अभियान चलाएको उनीहरुको दावी छ । सफा अभियानका एक अभियान्ता काँग्रेस महाधिवेशन प्रतिनिधी रामजी वास्तोलाले काँग्रेसले पठाएका खेताला उम्मेदवारलाई हराएर आफुहरुले उठाएका ज्ञानेन्द्र रुम्दालीलाई जिताएर देखाइदिने दावी गर्नुभयो ।

 सफाइ अभियानका नेताहरुले संघीय प्रतिनिधी सभामा बागी उम्मेदवारी नदिए पनि संस्थापनको विरुद्धमा अभियान चलाएकाले संघीय प्रतिनिधी सभा सदस्यका उम्मेदवार रामहरि खतिवडाको चुनावी अभियान समेत प्रभावित भएको छ । खतिवडासँग उनका क्षेत्रका जिल्ला तहका दुई जना नेताले मात्र साथ दिएका छन् । जिल्ला सचिव रुद्र अधिकारी र अशोक कार्की मात्र खतिवडाको साथमा छन् ।

 रुम्दालीको पक्षमा पूर्व जिल्ला सभापति तथा स्व. बलबहादुर राईका छोरा प्रेमराज राई, महासमिति सदस्य कुमार लुईटेल, पूर्व सचिव एवं महाधिवेशन प्रतिनिधि रामजी बास्तोला, कमल तामाङ, लेखबहादुर राई, दुर्योधन गिरी लगायतका प्रभावशाली नेताहरु चुनावी प्रचारमा लागेका छन् । रुम्दालीको टोलीले सफा अभियानलाई लिखु गाँउपालिकाको पोकलीवाट सुरुवात गरेका छन् ।

 त्यस्तै चक्र राई, भीम मगर, पुष्पराज राई, कल्याण राई लगायत एक दर्जन युवाहरु समेत ज्ञानेन्द्र रुम्दालीकै पक्षमा प्रचार अभियानमा छन् । नेपाली काँग्रेसको पकड क्षेत्र मानिएको सुनकोशी र मानेभञ्ज्यागं गाउँपालिकामा निर्वाचत प्रमुख र उपप्रमुख बाहेकका नेताहरु विद्रोही पक्षमा लागेपछि त्यहाको मत आधा आधा हुने अवस्था छ । यसले नेपाली कांग्रेसका प्रदेश र संघ दुवैका आधिकारिक उम्मेदवारका लागि चुनाव जित्न फलामको चिउरा चपाउनु सरह हुने भएको छ ।