नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

संयुक्त वाम गठबन्धनको नगरस्तरीय निर्वाचन परिचालन कमिटी गठन

ओखलढुङ्गान्युज डटकम, कात्तिक ११, ओखलढुङ्गा
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनको सिद्धिचरण नगरपालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । नेकपा एमालेको जिल्ला कार्यालयमा रहेको वाम गठबन्धनको सचिवालयमा भएको बैठकले नगरस्तरीय प्रचार समिति र वडा स्तरीय निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको एमाले नगरकमिटीका संयोजक मेखबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकले नगर स्तरीय २०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ भने वडा स्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी र आर्थिक व्यवस्थापन समिति निर्माण गर्ने निर्णय गरेको छ । वडा स्तरमा संयुक्त भेला गरेर एक हस्ताभित्र कमिटी गठन गरी प्रचार प्रचारलाई तीव्रता दिने निर्णय गरेको छ ।

बैठकले दुवै पार्टीका कमिटीहरुलाई संयुक्त भेला आयोजना गरि अघि बढ्न निर्देशन दिने निर्णय गरेको माओवादी केन्द्रका नगर सह ईञ्चार्ज रुपेश शाक्यले बताउनुभयो । संयुक्त बैठकले जिल्लाको समृद्धि र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न नगरबासीलाई अपिल पनि गरेको छ । बैठकमा माओवादी केन्द्रका नगर ईञ्चार्ज गुणकुमार राई लगायतका नेताहरु सहभागी थिए ।