नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

‘वाम गठबन्धन’को कसरत र ‘क्रान्तिकारी ध्रुवीकरण’को बहस

☆दिलीपकुमार श्रेष्ठ ’कोरस’

दिलीपकुमार श्रेष्ठ ’कोरस’

१) विषय प्रवेश

सबैले मान्दै आएको विषय हो कि नेपालको वाम आन्दोलनमा ऐतिहासिक कालदेखि नै दुईटा विपरीत धारहरू रहँदै आएका छन्– एउटा, समाज रूपान्तरणमा वल प्रयोग वा क्रान्ति वा युद्धको अनिवार्य भूमिका रहन्छ भन्ने धार र अर्को, शान्तिपूर्ण ढङ्गले वा चुनावी बाटोबाट पनि यो सम्भव छ भन्ने धार । यसमा पहिलो धारको प्रतिनिधित्व माओवादीले र दोश्रो धारको प्रतिनिधित्व एमालेले गर्दै आइरहेको स्थिति थियो, हो । अहिले यतिखेर त्यो स्थितिमा केही फेरबदल आएको छ । माओवादी आन्दोलनका मुख्य नेतृत्वसहितको एउटा ठूलो हिस्सा वैचारिक रूपले घोषणै गरेर एमालेको कित्तामा घुस्रिन पुगेको छ । र, वामआन्दोलनमा ‘वाम गठवन्धन’को कसरतसँगसँगै नयाँ स्तरमा ‘क्रान्तिकारी ध्रुवीकरण’को बहस पनि शुरु भएको छ । यिनै विषयवस्तुका सेरोफेरोमा रहेर यहाँ थोरै छलफल चलाउने जमर्को गरिएको छ ।

२) वाम गठवन्धन को कसरत

२०७४ असोज १७ को संयुक्त पत्रकार सम्मेलनमा एमाले, माके र नयाँ शक्तिका शीर्षस्थ नेताहरू सारा संसार जिते जसरी प्रस्तुत भए । उनीहरूले अत्यन्त हर्षित मुद्रामा ३ ओटै दलका नेता सम्मिलित ८ सदस्यीय पार्टी एकता संयोजन समिति घोषणासँगै चुनावी तालमेलका लागि गरिएका आपसी वण्डापत्र वा ६ बुँदे सहमति पत्र समेत सार्वजनिक गरे ।

यो गठबन्धनका पक्षधरहरू यसलाई ‘कम्युनिष्ट एकता’, ‘वामपन्थी शक्तिहरूबीचको कार्यगत एकता’आदि÷इत्यादि भनिरहेका छन् । एमाले अध्यक्ष ओलीको बोलीमा यो गठबन्धन ‘नेपाली जनताको आकांक्षा, चाहना र आवश्यकता’ हो । माके अध्यक्ष प्रचण्डले यसलाई ‘निरन्तरताको क्रमभङ्गता’ भनेका छन् भने नयाँ शक्तिका बावुराम भट्टराईले ‘आवश्यकता र आकस्मिकताको परिणाम’ ।

माओवादी घटकहरूले भने यो गठबन्धनलाई ‘सच्चा कम्युनिष्ट क्रान्तिकारी शक्ति विरूद्धको लुच्चा प्रतिक्रियावादी गठबन्धन’ भनेर यसरी प्रहार गरिरहेका छन् ।

“यो गठवन्धनलाई ‘कम्युनिष्ट एकता’ वा ‘वामपन्थी एकता’ भन्ने प्रचार गरिएको छ,त्यो विल्कुल गलत हो ।दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियावादी कित्तामा गैसकेका यी शक्तिहरूको एकता वास्तवमा एउटा दक्षिणपन्थी प्रतिक्रियावादी गठवन्धन बनाउने प्रयास हो । वास्तविक रूपमा यो देश, जनता, सच्चा कम्युनिष्ट पार्टी र सच्चा वामपन्थीहरूका विरूद्धको गठबन्धन हो ।’’ –(मोहन वैद्य’किरण’, माके, एमाले र नयाँ शक्तिको प्रतिक्रियावादी गठवन्धन, मूलबाटो, २०७४ असोज १८)

“क्रान्तिकारीहरू,श्रमिक वर्गहरू,वैज्ञानिक समाजवादीहरू मिल्नु राम्रो हो । त्यसले जनताका पक्षमा सकारात्मक परिणाम ल्याउँछ, तर अवसरवादीहरू मिलेर श्रमिक वर्ग र राष्ट्रको पक्षमा राम्रो परिणाम आएको वा राम्रो भएको एउटा पनि इतिहास छैन । रूसी ख्रुश्चेभ र गोर्भाचोभहरू मिलेर शोभियत संघलाई कहाँ पु¥याए ! जर्मनीमा सिडेमान र पूँजीवादी मिलेर जर्मन कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारे ! नेपालमै एमाले बनेपछि क्रान्ति गर्न कति गाह्रो भयो ! प्रचण्ड, नारायणकाजी, बावुराम मिल्दा माओवादी क्रान्ति कसरी विसर्जन भयो ! यी सबै दृष्टान्तले सावित गर्छन् कि यो एमाले,माके, नयाँ शक्ति भन्नेहरूको गठजोडले पनि श्रमिक वर्ग, क्रान्ति,वैज्ञानिक समाजवाद र देशलाई कुनै फाइदा दिने छैन ।’’ –(विप्लव, ईरातो खवर,२०७४ असोज १८)

“प्रचण्ड र एमालेहरू मात्रात्मक रूपमा केही तलमाथि भए पनि यी दुबै समान मूल्य–मान्यता, स्वार्थ र उद्देश्य भएकाले यिनीहरूबीचको एकता सही र समयानुकूलको एकता हो ।’’– (डा.ऋसिराज वराल, प्रतिक्रियावादी गठवन्धनविरूध्द क्रान्तिकारी ध्रुवीकरणको चुनौति,जनमेल,२०७४असोज)

“ … … यहाँसम्म आइपुग्दा माओवादीको एमालेकरण हुने प्रक्रियाको अन्त भएको छ र माके तथा एमालेका बीचमा पार्टी एकताका लागि होइन,माकेको एमालेमा विलयका लागि बाटो खुलेको छ ।’’– (इन्द्रमोहन सिग्देल ‘वसन्त’ , कथित वाम ध्रुवीकरण र क्रान्तिका चुनौतिहरू, मूलबाटो २०७४असोज २०)

एमाले,माओवादी र नयाँ शक्तिबीचमा भएको यो गठजोड कस्तो खाले गठजोड हो ? यो यसका आयोजकहरूले दावी गरेझैँ ‘कम्युनिष्ट वा वाम एकता’ हो कि यसका आलोचकहरूले व्याख्या गरेझैँ ‘प्रतिक्रियावादी गठजोड’ ? यो प्राकृतिक छ या अप्राकृतिक ? यसको आगामी परिणाम के होला ? यसले देश र जनताको हित गर्ला,नगर्ला ? हामी यसबारे एकदम स्पष्ट हुन जरूरी छ ।

यो गठजोडलाई कतिपय मान्छेहरूले ‘आकस्मिक’ र ‘अप्राकृतिक’ भनेका छन्, तर त्यो वुझाइ सही वुझाइ होइन । एमाले लगायतका घटकसँग मिलेर ‘एउटै कम्युनिष्ट केन्द्र’ निर्माण गर्ने धुन आज आएर सिर्जना गरिएको नयाँ धुन होइन, यो धुन धेरै अघिदेखि बजिरहेको थियो । यो आन्दोलनमा उपभोक्तावादीहरूले सामूहिक रूपमा गरेको नीकै लामो समयसम्मको निरन्तर र अथक तपस्या÷साधनाको ताजा परिणाम हो । यसमा देशी÷विदेशी दातृ निकाय वा संघ÷संस्थाको लगानी कति छ त्यो अलग विषय हो तर यसमा सबैभन्दा बढी परिश्रम गर्ने वा दौडधुप गर्ने असली नेपाली साधक वा धावक भनेको ’श्री प्रचण्ड’ नै हुन् । हाम्रा ‘प्रचण्ड प्रतापि’ले चुनावका लागि ‘सूर्य’ चिन्हका साथसाथै विचार र राजनीतिमा एमालेको ‘वहुदलीय जनवाद’ स्वीकारेपछि मात्र यो सम्भव भएको हो ।

प्रचण्डलाई अब क्रान्ति र परिवर्तन चाहिएको छैन । उनको वर्गचरित्र फेरिएको छ भन्ने कुरा उनको आगामी चुनाव चिन्ह घामजस्तै छर्लङ्ग छ । वास्तवमा उनी क्रान्तिकारी पार्टी निर्माण गर्ने दिशातर्फभन्दा पनि भीड जम्मा गरेर क्रान्तिको भतेर खाने दिशातर्फ ज्यानको वाजी थापेर विगत केही समय अघिदेखि नै लागिपरेका थिए भन्ने पोल पनि खुलेको छ ।

प्रचण्ड एक प्रतिभाशाली हेभीवेट खेलाडी हुन् । संसदीय खेलकूद जतिखेर पनि प्रचण्डको वरिपरि घुमिरहेको छ । उनको पासोमा परेपछि काङ्ग्रेस–एमालेका मैले हुँ भन्ने खेलाडी पनि थाकेर चुर हुन्छन् ,गल्छन् । पासो थापेर नै उनले आफनो जीवन गुजारा गरिरहेका छन् । केही हप्ताअघि अथवा २०७४ साउन ८ का दिन पत्रकार सम्मेलन गरेर उनले माओवादीहरूलाई त्यस्तै एउटा पासो वा वल्छी थापेका थिए ‘एकता’को । उनले पार्टी विघटनको घोंक हालेका थिए र किरण, विप्लवलगायतलाई एकताका लागि अपिल गरेका थिए । त्यो एकता प्रस्ताव यथार्थमा किरण, विप्लव लगायतको नेतृत्वमा रहेको अन्य माओवादी घटकहरूलाई समेत एकसाथ एमालेमा समाहित गराउने प्रपन्च सिवाय अरू केही थिएन भन्ने कुरा यतिबेला स्वतः पुष्टि भएको छ । मोहन वैद्यले ‘काङ्ग्रेस र एमालेसँग पार्टी एकता गर्नु उपयुक्त हुन्छ’ भनेर त्यसै वाण हानेका रहेनछन् ।

यो गठजोडलाई ‘एकता’संज्ञा दिइएको छ । तर यो प्रचण्डको एमाले प्रवेशसिवाय अरु केही होइन । यो रहस्यको पोको ईश्वर पोखरेल र गोपाल किराँतीले खोलिसकेका छन् । यो गठजोडबाट देश र जनताको पक्षमा कुनै पनि परिवर्तनको आशा गर्न सकिँदैन । यो एकाध केही नेताविशेषको राजनीतिक जीवन विमासिवाय केही होइन । यो आन्दोलन विघटनको विधिवत घोषणा हो । सार्वजनिक कार्यक्रमहरूमा स्वयम् प्रचण्डले ‘पार्टी विघटन’भन्ने शब्दावली ओकलिसकेका छन् । कसैलाई भ्रम नपरोस्– एमाले पार्टी रहन्छ, माओवादी केन्द्र अब रहन्न ।

३) क्रान्तिकारी ध्रुवीकरणको बहस

नेपालको कम्युनिष्ट आन्दोलन सँगसँगै माओवादी आन्दोलनको हविगत समेत यतिबेला मुठ्ठीभर नाफाखोर तथा कमीशनखोरहरूको कब्जामा रहेको मुग्लिन–नारायणघाट सडक खण्डजस्तो बनेको छ । यहाँ ठूल्ठूला भँड्खाला र दरारहरू छन् । जमीन ठाउँ–ठाउँमा भासिएका छन्, पहिरो पाइला–पाइलामा खसेका छन् । ध्वनि–प्रदुषण,वायु–प्रदुषण र यातायात व्यवसायीको छलछामपूर्ण व्यवहारले गर्दा यात्रारत यात्रुहरू हैरान भएका छन् । र,सबैले एउटै प्रश्न उठाइरहेका छन्– यो हाम्रो सुदूर यात्रा के हुन्छ ? आन्दोलन यो स्थितिमा किन आयो र यसमा दोषी को छ ? हामीले हाम्रो आफ्नो इतिहासको गम्भीरतापूर्वक समीक्षा गर्न जरूरी छ ।

आन्दोलनले यो पीडाजन्य क्षति व्यहोर्नुपर्नाका पछाडि जम्माजम्मी दुईटा कारण छन् । पहिलो कारण– आन्दोलनभित्र सर्वहारा भेषमा नयाँ अभिजात वर्ग जन्मनु, त्यो वर्गले आफ्नो स्वार्थानुकूलको वैचारकि– राजनीतिक लाइन अँगाल्नु र संगठनको ढाँचालाई सोहीअनुरुप बनाउनु । दोश्रो कारण– क्रान्तिकारीहरू भ्रमपूर्ण भ्रमणमा रमाउनु ।

माओवादी आन्दोलनमा प्रत्यक्ष रूपमा दुईटा श्रेणी वा वर्ग देखा परेको भनेको जनयुध्दकालमै हो, ठालू–नाइकेलाई विशिष्ट तथा स्वादिष्ट र रैती–सिपाहीलाई सामान्य पाक्ने गरी दुईटा मेस सञ्चालनमा आएपछि हो । ‘एक्काइसौं शताब्दीको जनवाद’ हुँदै ’प्रचण्डपथ’को संश्लेषणसम्म आइपुग्दासम्म यो वर्गले आफ्नो लाइन एकदम छर्लङ्ग हुने गरी खुला र स्पष्ट रूपमा राखिसकेको थियो । ‘चुनवाङ बैठक’मा यो विमोचित भयो । त्यसपछि यता के–कस्ता रोचक तथा अद्भूत नाटकहरू प्रदर्शन भए र अहिले के–कस्तो अभ्यास भैरहेको छ भन्ने कुरा उल्लेख गरिरहनु परेन । यो विषय राजनीतिको कखरा नपढेका सामान्य बालखालाई पनि थाहा छ ।

यहाँ दोषी को त भनेर प्रश्न गर्ने हो भने शायद हामीमध्ये प्रायः सबैको मुखबाट दुईटा नाम निस्किन्छ– प्रचण्ड र वावुराम । तर सम्पूर्ण दोष प्रचण्ड–वावुरामको थाप्लोमा हालेर हामी ‘पानीमाथिको ओभानो’ बन्न मिल्दैन । यदि कसैले त्यस्तो गर्छ भने त्यो पनि धोका र बेइमानी नै हो । यसमा वैद्य, विप्लव र हामी कोही अछुतो छैनौँ । ‘एक्काइसौं शताब्दीको जनवाद’ हिंजो हामी सबैले गाएको गीत हो । ‘प्रचण्डपथ’हामीले मुक्त कण्ठले प्रशंसा गर्ने गरेको ‘विशिष्ट राग’ हो ।

अब प्रचण्ड–बावुरामतिर फर्किएर प्रश्न गर्नुको कुनै अर्थ छैन, हामी आफैतर्फ फर्कन जरूरी छ । यो महान् आन्दोलनमा यतिविघ्न भयानक छलछाम र षड्यन्त्र हुँदै गर्दा पनि हामीले त्यसको अलिकति गन्धसम्म पाएनौँ किन ? हामी विरोध र आलोचना गरिरहेका छौँ । शहीदका सपना, वेपत्ता तथा घाइते योद्धाका खुन पसीना र आम कार्यकर्ता तथा जनताका भावना मुताविक सशक्त क्रान्तिकारी धार निर्माण गर्न सकिरहेका छैनौँ किन ?

चिन्ता र दुःखको विषय

क्रान्तिकारी माओवादीको पोखरा सम्मेलनमा ‘नेतृत्वले क्रान्तिकारी कार्यकर्ताका भावनाको उपेक्षा ग¥यो, रामसिं श्रीष र सीतारामका सामु किरण नै चुप लागे’ भन्ने चर्चा चलेको छ । क्रान्तिकारी माओवादी नेकपा महासचिव विप्लवउपर ‘आर्थिक क्रान्ति’को आरोप छ र नामुद डनहरूसँग कुम जोरेर खिचिएको उनको तस्वीर सार्वजनिक भएको छ । उनी पनि प्रचण्डजस्तै कहिले छोरा त कहिले छोरीको काण्डमा मुछिएका छन् । डा.बराल उनीमाथि प्रायः प्रहार गरिरहन्छन् (‘बावुसाहेव’।

क्रान्तिकारी ध्रुवीकरणको पक्षपातीले स्वीकार गर्नुपर्ने केही आधारभूत शर्त छन्– विचार र राजनीतिसँग सम्वन्धित शर्त, संगठनात्मक पद्धतिसँग सम्बन्धित शर्त, नेतृत्वसँग सम्बन्धित शर्त, कम्युनिष्ट आदर्श, नैतिकता, मूल्य–मान्यता, व्यक्तिगत जीवनशैली र आचरणसँग सम्बन्धित शर्त आदि ।

ध्रुवीकरणको बहस चल्दै गर्दा मोहनविक्रम सिंह, नारायणमान विजक्छेहरूलाई क्रान्तिकारी मान्ने या नमान्ने भन्ने बहससमेत शुरू भएको छ । यो थोत्रो बहसको पनि अर्थ छैन । यी नेताले क्रान्तिको कुरा त गर्लान् ,क्रान्ति गर्दैनन् । नारायणकाजी श्रेष्ठ गलत र चित्रबहादुर केसी सही भन्ने तर्क कसैले नगरे हुन्छ, मूलाको ड्याङ पनि एउटै हो, जात पनि एउटै हो ।

र, पुछारमा भन्नुपर्दा क्रान्तिकारी ध्रुवीकरण प्रक्रियाको थालनी क्रान्तिकारी माओवादी, नेकपा, कम्युनिष्ट न्युक्लिअस लगायत माओवादी घटकहरूबाट हुनुपर्ने हो । तर त्यो भैरहेको छैन । यहाँ कार्यदिशा र कार्यदिशा छ, कार्य छैन ।

समस्या अब यहाँ प्रचण्ड–वादल–वावुरामहरूको होइन, मोहन विक्रम र विजुक्छेको होइन । समस्या यहाँ रामसिंह–सीतारामको पनि हैन । समस्या हाम्रो हो । समस्या यहाँ मोहन वैद्यको हो, विप्लवको हो । क्रान्तिकारी माओवादी आन्दोलनले अब यी दुई नेतालाई इतिहासको कठघरामा उभ्याएर प्रश्न सोधेको छ र जवाफ मागेको छ– नयाँ जनवादी क्रान्तिको ।