नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

पैसा साट्न सदरमुकाम भिड

ओखलढुङ्गान्युज डटकम, असोज ४ ओखलढुंगा
स्थानीय तहमा बैङ्क नहुदा अहिले दशैको मुखैमा जिल्लामा रहेका बैङ्कहरुमा पैसालिन आउनेहरुको भिड लागेको छ । स्थानीय तहहरुमा अझै बैंक नहुँदा नागरिकहरु सगै जिल्लाका विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी र नव निर्वाचित जनप्रतिनिधि पनि समस्यामा परेका छन् ।

ओखलढुङ्गा जिल्लामा एकमात्र नगरपालिकासहित ८ स्थानीय तह छन् । ती मध्ये जिल्ला सदरमुकाम बाहेक मानेभज्याङ्ग र मोलुङ गाउपालिकामा माात्रै बैंक छ । स्थानीय तहमा बैङ्क अभावका कारण कर्मचारी तथा स्थानिय जनप्रतिनिधी मात्रै हैन स्थानीय नागरिकहरु पनि झनै मारमा परेका छन् ।

स्थानीय तहमा बैङ्क नभए कै कारण पैसा साट्न सदरमुकाम धाउनुपर्ने बाध्यतामा छ । बैंक नभएकै कारण जिल्लाका पश्चिमी क्षेत्रका लिखु, खिजीदेम्बा गाउँपालिकाबाट ३ दिन लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । खिजीदेम्वा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष कमल न्यौपानेले द्वन्द्वाका समयमा विस्तापित भएका बैकहरु अझै पुनःस्थापना नहुँदा स्थानीयलाई समस्या भएको बताउँछन् ।

द्वन्द्वहुनु भन्दा अगाडी हालको खिजिदेम्वा गाउपालिका, साविकको खिजिफलाटेमा कृषि विकास बैङ्क र रगनीमा नेपाल बैङ्क रहेको थियो । द्वन्द्वको अन्त्य भएको एक दशक वितिसकेर स्थानीय तह भैसक्दा पनि बैङ्कको पुनस्थापना नहुनु दुखद भएको बताउछन् वडाअध्यक्ष न्यौपाने । बैङ्कको पुनस्थापनाका लागि पहलकदमी चलाई रहेको उनको भनाई छ ।

यसै आर्थिक वर्षदेखी प्राय सबै सरकारी कार्यालयको कर्मचारीको तलब भत्ता समेत गाउपालिकामा गएको छ । सम्पूर्ण बजेट गाउपालिकामा गएपनि गाउँपालिकामा बैंक नभएका कारण गाउँपालिकाको खातासमेत सदरमुकाममा रहेका बैंकहरुमा खोल्न बाध्य हुनुपरेको जनप्रतिनिधीहरुको भनाई छ । त्यो समस्यालाई हल गराउन जिल्लालाई कार्यक्षेत्र बनाई काम गरिरहेको केही न केही बैङ्कलाई गाउपालिकामा पठाईनु पर्ने उनिहरुको माग छ ।

अहिले सदरमुकाम ओखलढुंगा बजारमा राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक, टुरिजम बैंक, सिभिल बैंकलगायत दर्जनबढी निजी तथा बिकास बैंकहरुले सेवा दिइरहेका छन् । मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा र मोलुङ गाउँपालिकाको रामपुर बजारमा मुक्तिनाथ विकास बैंकको शाखाले सेवा दिइरहेका छन्।