नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि

ओखलढुङ्गान्युज डटकम, असोज २, काठमाडौं ।

यू १९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू १९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।

मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गर्‍यो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । सेमिफाइनलमा अर्धशतक प्रहार गरेका ओपनर सन्दीप सुनारले १९ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १ रनमात्र बनाउन सके ।

तेस्रो नम्बरका ब्याट्सम्यान अनिल कुमार साहले १६ रन नेपालको खातामा जोडे । प्रनित थापामगरले अविजित १९ रन बनाए । बलिङमा हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२‍‍.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो ।

उसका हरप्रित सिंहले २० रन बनाए भने झाथवेद एस एसले १६ र वक्सास खानले १५ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् । हङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३-३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।