नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

‘ठाडोभाका’ अभियन्ता भेडिखर्के साँइलाको निधन

ओखलढुङ्गान्युज डटकम, भदौ २६, लमजुङ ।
ठाडोभाकाका अभियन्ता ‘भेडीखर्के साँइला’ अर्थात दीर्घराज अधिकारीको निधन भएको छ । चौरासी वर्षको उमेरमा शोमवार साँझ उनको निधन भएको हो । ठाडो भाकालाई जात्रा, मेला पर्व, गाउँ, सहरमा सुनाएर लोकप्रिय बनाउन समर्पित सर्जक “भेंडीखर्के साइँला” यस धर्तीबाट विदा भएका हुन् । लामो समयदेखि दम तथा ज्वरोको समस्याबाट ग्रसित साँइलाको शोमवार साँझ निधन भएको हो ।

विसं १९९० भदौ २९ मा लमजुङको सिन्दुरे, तुर्लुङकोटमा जन्मिएका भेडीखर्के साँइलाले दुराडाँडाको ठुलोस्वाराबाट देउबहादुर दुराले गाउन सुरु गरेको ठाडो भाकालाई भेडीखर्के साइँलाले ठाउँ ठाउँमा गएर सुनाउन शुरु गरेका थिए । ठाडो भाका लोकगीतहरुको एउटा मौलिक भाका हो । लोपोन्मुख यस भाकालाई पुनरजागरण गरे वापत दीर्घराज अधिकारी लाई ‘ठाडोभाका शिरोमणी’को उपाधि पनि दिइएको हो ।

उनी परिवारका साइँला छोरा हुन् । लमजुङको सिन्दुरेमा बाबुको भेंडीगोठ भएको र खर्कमा भेंडी चरिचरण गराउँदै हुर्के बढेका कारण उनलाई भेडीखर्के साँइला नामले बोलाइएको हो ।

चिकित्सकका अनुसार उनलाई एक महिनादेखि दमका साथै ज्वरो, खान मन नहुनेलगायत समस्या रहेको र शरीरमा पानीको मात्रा निकै कम हुँदै गएको थियो । लामो समयदेखि बिरामी पर्दै आएका अधिकारीको जिल्लास्थित अस्पताल तथा उपचार केन्द्रहरूमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । काठमाडौँमा उपचारपछि दुई दिनअघिमात्रै लमजुङ ल्याइएको थियो ।