नेपाली समय Loading...२०७६ आश्विन ५ आईतवार

जाँदा जाँदै ………………!

  राम प्रसाद ज्ञवाली, सहायक प्रमुख जिल्ला अधिकारी

प्रिय ओखलढुंगा,

अन्तरस्पन्दनको न्यानो माया ल !

अपूर्ण यात्रा सधै पूर्णता तिर लम्किन्छ । त्यसैले मेरो अपूर्ण यात्रा पूर्णताको गन्तव्य तर्फ लम्किने क्रममा हिजो ललितपुर, तेह्रथुम हुदै ओखलढुंगामा रहेकोमा फेरी त्यहि गन्तव्यको खोजीमा राजधानी काठमान्डू तर्फ जादैछ । तिम्रो साथमा बसेको पनि आज करिब करिब १५ महिना पुगेछ । २०७३ साल आषाढमा तिम्रो साथ खोज्दै खोज्दै तिम्रै काखमा लूटपुटिन आएको थिएँ । त्यतिबेला जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा यस जिल्लाका तिम्रा सन्ततिको काम गर्न खटिएर आएको थिएँ । हो, आमा त्यो हिजो जस्तै लागिरहेछ । थाहा छैन कति छिटो यो समय बितेछ । आज आएर तिम्रो साथ छुट्ने दिन आइसकेको छ l सम्झिदा कहाली लागेर आउछ । तर पनि यो बाध्यता हो आमा । तिमीले मलाइ सधैको लागि गुमाउने छैनौ । बरु मैले तिमीलाई सधैको लागि पाएर तिमीलाई आफ्नो दिलमा सजाएर जादैछु ।

म तिम्रोमा आउनु अघि तेह्रथुम जिल्लामा कार्यरत थिएँ । त्यहाबाट आउदा पनि मैले तेह्रथुम जिल्लालाई संगै आफै संग लिएर आएको थिएँ । त्यहाको स्मृति, त्यहाको कार्यानुभव तथा शैली मात्र होइन त्यहाका सन्ततिले मेरा प्रति गरेको अथाह मायाको पोको समेत यहि मुटुमा अटाएर आएको थिएँ । आज यहाबाट जादैछु र उही स्मृति, उही माया ममता तथा परिमार्जित कार्यानुभव बोकेर जादैछु । तिम्रोमा आउने बेला कटारीबाट यात्रा गर्दा बर्षातको भेलले तिमी सम्म आउनलाई कति अबरोध गरेको थियो । आज पनि त्यो संझना ताजैछ । यहा आइपुग्दा तिम्रो हेरचाहमा रहेको सच्चा सेवक मेरो हाकिम रहेछन् । उनको सानिध्यतामा मैले कहिले समस्या भोग्नु परेन ।

साच्चै आमा तिम्रो शितलता, तिम्रो कोमलता र तिम्रो सौन्दर्यताले  आफ्ना बिगतहरु कति छिट्टो भूलायो मलाइ नै थाहा छैन । म आएकै केहि दिनमा तिम्रा सौन्दर्यहरुको अबलोकन गर्न रामपुर, हर्कपुर र कुन्तादेवी जस्ता ठाउमा पुगें । म जहाँ पुगें तिमीले केहि न केहि नया अनुभव मात्र हैन मलाइ नयाँ नयाँ सिर्जना गर्ने अवसरहरु समेत प्रदान गर्यौ । त्यतिखेर हामी नेपाली सेनाले भूकम्प पिडित तथा विपद प्रभावितहरुको लागि निर्माण गरेको सामुदायिक आवास भवनको निरीक्षण तथा उद्घाटनका लागि गएका थियौं । हो, त्यहि बेला मैले ‘रामपुर हर्कपुर र दर्दपुर’ भन्ने यात्रा संस्मरण सिर्जना गरेको l त्यसपछि पनि मैले अनेकन सिर्जनाहरु तिम्रो प्रभावकै कारण लेखेको छु ।

‘ओखल पोकली, जति सुन्यो उति मिठो मायालुको बोली….’ लोक स्वादको गीत पनि त तिम्रै भूगोलकै कारणले सिर्जना भएको हो । हो ओखलढुंगा ! तिमीसंग रहदा मलाइ तिम्रा जनताका सुख दुखमा साथ दिने, उनीहरुका सेवामा समर्पित हुने र आफ्ना कार्यजिम्मेवारी पुरा गर्ने कार्यका अलावा अन्य रचनात्मक कार्यहरु गर्न उत्प्रेरणा मिलेको छ । तिम्रा कठिन कठिन भुगोहरुमा मेरो पाइला पुगेको छ । मेरा सीर्जनाका श्रोतको रुपमा तिम्रो प्रत्येक ढुंगा, माटोका कणकण, लहरा छहरा, झरना, खोलानाला, वनस्पति मात्र होइन यहाका जनमनको असिम माया, सद्भाव र म प्रतिको अन्त्यहीन बिश्वास मेरा उपहार हुन् । मेरा सम्पति हुन् । आमा तिम्रा अनेकन बिकट र अप्ठ्यारा बस्तिहरुमा कहिले नागरिकता घुम्ती शिबिर लिएर गएँ , कहिले फेरी बजार अनुगमनका शिलशिलामा गएँ । कहिले संस्था अनुगमन त कहिले पर्यटकीय भ्रमणका लागि पनि गएँ । जहा जहा पुगें त्यहा त्यहा तिम्रा सुन्दरता संगै तिम्रा समस्याहरुको समेत बोध भएको छ ।

आमा तिमीलाई पहिरे खोलाले हरेक वर्षायाममा सताइरहन्छ । तिम्रा सन्ततिहरु वर्षायाममा सानो सानो बर्षातको कारणले पनि आवागमनमा समस्या परी आफ्ना महत्वपुर्ण कार्यमा समेत ब्यबधान व्यहोर्नु परेको छ । कतिलाई त त्यहि पहिरे खोलाले निलेको थियो रे भन्ने पनि सुनेको छु ।तिमिले हरेक बर्षातमा एउटा एउटा खड्को पार गर्नु परेको सत्यलाई मैले बुझेको छु । तर पनि मेरो स्तरको प्रयासले तिम्रो दु:ख निवारण गर्न सकेको छैन । आमा तिम्रा हरेक गाउपालिकामा पुग्ने सडक कच्ची छ । तिमीलाई बर्षातको समयमा प्रकृतिले पनि निकै दुख दिन्छिन् ।  पहिरोले तिमीलाई हरेक बर्ष क्षतबिक्षत बनाउने गर्छ । हो, आमा तिम्रो विषम परिस्थिति देख्दा मलाइ धेरै दुख लाग्छ ।

तिम्रा सन्तानहरु निकै ठुला ठुला पदमा पनि पुगेका छन् । तर तिम्रो बिकासमा जति योगदान पुग्नु पर्थ्यो त्यो पुग्न सकेको छैन । सदरमुकामको बजार क्षेत्रमा दमकल आवागमन गर्न सक्ने बाटो छैन । हुन त तिम्रा १५/१६ बर्ष देखि हराएका छोरा र छोरी फेरी तिम्रो मुहार फेर्ने वाचा गरी फर्कीआएका छन् । आज तिमी संग आठ भाइ छोरा र आठै बहिनी छोरी अनि नाति नातिनाहरु पनि फर्की आएका छन् । सबै काममा खटेका छन् । सबैले प्यारो ओखलढुंगालाई सम्बृद्ध ओखलढुंगामा  रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मलाइ थाहा छ तिम्रा जुझारु छोराछोरीहरुले अब लिखुमा पुल बनाउने छन् । पोकली झरनामा नेपालका कुना कुनाबाट पर्यटकहरुलाई आउन, बस्न, भ्रमण गर्न सजिलो हुने गरी सडक यातायात, केवल कार आदिको निर्माणमा तदारुकता देखाउने छन् ।  रातमाटे झरना, रुम्जाटार, रामपुर आदि ठाउमा पर्यटकको ओइरो लाग्ने छ । म पनि ति पर्यटकको भिडमा देखिनेछु कुनै बेला । हुन त हिजो सम्माननीय राष्ट्रपति श्री बिद्ध्या देवी भण्डारी हेलिकप्टर चढेर यो जिल्लाको बिकट मानिने भूभाग देम्बाडाडामा आएर देम्बा महोत्सब उद्घाटन समेत गर्नु भएको हो । आमा म चाहन्छु भोलि देम्बाडाडामा जान तिम्रा सर्वसाधारण सन्ततिलाई हेलिकप्टर चढ्नु नपरोस् । तिम्रा सन्तति सजिलै संग मोटर चढेर त्यहा पुग्न सकून्, विभिन्न प्रजातिका गुराँसको अबलोकन गरी नेपालको बास्तविक प्राकृतिक सुन्दरता र भौगोलिक मनमोहकतामा रमाउन सकून् ।

मलाइ आसा मात्र होइन पुरै बिश्वास छ अबको दुइ तिन बर्ष पछी तिमि साच्चै सम्बृद्ध हुनेछौ । म त्यस वीचमा सायद धेरै पल्ट भेट्न आएको हुनेछु । मैले अगाडी नै भनिसकें नि, म त यहाबाट एक्लै जादै छैन । तिमीलाई मन मुटु र स्मृतिमा संगै बोकेर जादैछु । तिम्रो चिन्ता गर्ने मात्र होइन तिम्रा बारेमा चिन्तन गर्ने दर्जनौ आफन्त यहि छोडेर जादैछु । मेरा सबै आफन्त तिम्रा त सन्तति र सेवकहरु नै हुन् । हिजो तिम्रो बारेमा धेरै चिन्ता गर्ने तिम्रा सेवकहरु हुन्थे । आज तिम्रो बिषयमा धेरै सोच बिचार गर्ने तिम्रा सन्तति छन् । तिम्रा कतिपय सन्तति जुझारु अब्बल पत्रकार छन्, कति गैर सरकारी क्षेत्रमा रहेर तिम्रा हितमा अनेकन काम गरिरहेका छन् । तिम्रा सेवक त तिम्रै सेवामा समर्पित हुन विभिन्न जिल्लाबाट खटिएर यहाँ आएका छन् । सबैको उद्देश्य एउटा मात्र  छ – तिम्रा खातिर काम गर्ने , तिम्रो सेवा गर्ने र तिम्रो भलो गर्ने ।

आज करिब डेढ बर्ष सम्म बस्दा म गुल्मेली आधि र ओखलढुंगे आधि भएको छु ।  तिम्रो सेवा गर्दा म तिम्रो हुने र तिम्रो साथ छोडेर अन्यत्र जादा म पराइ हुने कल्पना समेत मैले गर्न सक्दिन । तिमी जहा भएता पनि अब तिमी मेरी हौ । म त अब जादैछु । तिमीबाट मात्र छ घन्टाको बाटोको फरक ठाउमा । मात्र छ घण्टा सडक यातायातले टाढा । तिम्रा धेरै सन्तति बस्ने ठाउ त हो नि काठमांडू । म त त्यहाबाट पनि अर्को सरुवामा परी कता कता जानु पर्छ । जहा पुगे पनि तिम्रै दिदि बहिनीको काखमा जाने त हो । ति सबै मेरा आमा नै हुन् । जहा गए पनि आमाको सेवा गर्न पाउने हुँदा मलाइ धेरै गुनासो पनि छैन । आखिर म आमाको सेवाका लागि त जन्मिएको हुँ, यसैमा मेरो सुख छ, यसैमा मलाइ गर्व छ । म सधै सधै यसरी नै रमाउनेछु ।

अन्त्यमा, आजसम्म तिम्रो सेवामा समर्पित भएर यहाँ रहदा मबाट जान अन्जानमा कहीं कतै तिम्रो मन दुखाएको रहेछु भने मलाइ माफ गरिदेउ है आमा । हुन त आमाहरुको हृदय बिशाल हुन्छ, मैले गरेका कमजोरीहरु तिमीले या त बिर्सिसकेकी छौ, या त मबाट कमजोरी नभएको पनि हुन सक्छ । अब भने तिम्रो मुहारमा कान्ति र जीवनमा सुस्वास्थ्य अनि  शान्ति र सम्वृद्धिको कामना गर्दै बिदा हुन्छु ।

 

 

जय ओखलढुंगा !

जय ओखलढुंगे !!

 

मिति- २०७४/०५/२६