नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

क्यारिकेचर र अभिनयमा जम्दै नयाँ पुस्ता

ओखलढुगा, साउन २२ ।
अभिनय गरेर हँसाउनु र क्यारिकेचर गर्नु यी दुई फरक कुरा हुन् । तर यी दुवैको समान उद्देश्यचाहिँ जसरी भए पनि ‘अरूलाई हँसाउनु’ नै हो । नेपालमा हँसाउनकै लागि कलाकारितामा लाग्नेहरू धेरै छन् । तर क्यारिकेचर अर्थात् अरूको नक्कल गरेर हँसाउने अलि कमै मात्र पाईन्छन् ।

क्यारिकेचरमा लामो समयदेखि जमेका एक कलाकार हुन्– मनोज गजुरेल । उनी कुनै फिल्म वा सिरियलमा अभिनय नगरे पनि स्टेज र गाईजात्रे कार्यक्रममा क्यारिकेचर गरेरै जमिरहेका छन् । साम्दे शेर्पा, शैलेन्द्र सिम्खडाजस्ता कलाकार कुनै समय जमेका भए पनि उनीहरू गजुरेलझैँ यही क्षेत्रमा निरन्तर देखिन सकेनन् । तर पछिल्लो पुस्तामा केही युवा क्यारिकेचरमा निकै जमेर लागेका छन् । दशकअघिदेखि क्यारिकेचरले परिचय बनाइसकेका राजा राजेन्द्र भने स्थापित भइसके । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सामा जन्मिएका सुमन कार्की पनि अहिले क्यारिकेचरमा जमिरहेका छन् ।

सुमनले भर्खरै मात्र हरिवंश आचार्य लिखित ‘हरिबहादुर’ उपन्यासको विमोचन कार्यक्रममा पत्रकार ऋषि धमलाको क्यारिकेचर गर्दै प्रशंसा कमाए । सुमनले हरिवंशसँगै पुस्तक प्रचार तथा प्रवद्र्धनका लागि देशका विभिन्न स्थानमा आयोजित कार्यक्रममा पनि उही पात्रका रूपमा आफूलाई चिनाए ।

‘रेडियो अडियो’ र युटयुब च्यानल ‘फर–सी नेटवर्क’ मा समेत काम गर्ने सुमन सानैदेखि अरूको नक्कल गर्ने गर्थे । प्लस टु पढ्दाताका मोरङको सुनाखरी एफएममा काम गर्न थाले । उनले त्यहीँबाट आफ्नो कला निखारे । ‘विस्तारै स्टेज प्रोग्रामहरूमा बोलाउन थालेका छन्,’ सुमनले भने, ‘भर्खरै मात्र हरिवंश र मदनकृष्ण दाइसँगको पूर्वपश्चिम यात्रामा पनि धेरै कुरा सिकेको छु । केही गर्न सकिन्छ भन्ने आँट बढेको छ ।’ उनी सात वर्षदेखि क्यारिकेचरमा लागेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका स्थायी ठेगाना भएका दिनेश काफ्ले पनि अहिलेका उदियमान कलाकार हुन् । उनले खाली राजनीतिक नेताको मात्र नभएर नेपालका हास्यकलाकारदेखि बालबालिकाको लोकप्रिय कार्टुन ‘मोटु और पत्लु की जोडी’ को समेत क्यारिकेचर गरेका छन् । मोहन वैद्य, गगन थापालगायतको क्यारिकेचरसमेत गर्न सक्ने उनी पनि सात वर्षदेखि यो क्षेत्रमा छन् ।

मनोज गजुरेलले माधवकुमार नेपालको क्यारिकेचर गरेको देखेपछि दिनेशले त्यसैको सिको गर्न थाले । पछि नक्कली ‘माग्ने बूढा’ बनेर समेत धेरै कार्यक्रममा उत्रिए । उनलाई कला निखार्ने अवसर ‘एनसेल रोड सो’ ले दियो । उनी देशका विभिन्न भागमा महिनौँ क्यारिकेचर गरेर हिँडे । मलेसिया सम्म पुगे । एकै पटकमा सयौं व्यक्तिको आवाज जस्ताको तस्तै निकाल्न सक्नु नै उनको खुबी हो ।

‘क्यारिकेचर खाली नामको मात्र नहोस्,’ उनले भने, ‘क्यारिकेचर गरिसकेपछि व्यंग्य गरिएको पात्र माथि न्याय होस् भन्नेमा म सचेत हुने गर्छु । अरूको सामान्य नक्कल गर्नु मात्रै पक्कै क्यारिकेचर होइन ।’ ‘अमेरिकन गट टयालेन्ट’ मा सहभागी हुने उनको ठूलो रहर छ ।

क्यारिकेचरमा लोकप्रिय बन्दै गएका दिनेशकै जोडी छन् सुबोध गौतम । ओखलढुंगाकै मोलुङ गाउँपालिकाको कुन्तादेवी जन्मिएका उनी पनि दर्जनौँ नेता तथा कलाकारको क्यारिकेचर गरेर लोकप्रिय बनेका हुन् । सुरुमा राजनीतिक दलका कार्यक्रममा कला प्रस्तुत गर्दै स्टेज र पर्दामा समेत आएका उनी अनलाइनबाट प्रसारण हुने ‘मज्जाको टीभी’ लगायतमा आबद्ध छन् । उनीहरु पछी क्यारीकेचर तथा अभिनय कलामा अरु धेरै कलाकारहरु आएपनि खासै टिक्न सकेका छैनन् । कला भएका कलाकारहरुले पनि अबसर नपाउदा आफ्नो कला नै गुमाईरहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

कान्तिपुर दैनिकका पत्रकार कुम्भराज राईको सहयोगमा ।