नेपाली समय Loading...२०७६ आश्विन ५ आईतवार

स्थानीय तहको चुनावमा पार्टी भित्र अन्तर्घात भयो – मोहन वैद्य

काठमाण्डौं, श्रावण ८ ।
स्थानीय तहको दुई चरणको निर्वाचनपछि दलहरू असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा केन्द्रित भइरहेका छन् । चुनावी समीक्षा पनि गरिरहेका छन् । धेरै सिट जित्नेदेखि थोरै सिट जित्नेसम्म सबैजसो दल चुनावमा अन्तर्घात भैरहेको समीक्षा गरेका छन् । कतिपय दलले त तल्लो तहका नेता कार्यकर्तालाई कारबाही समेत गरिसकेका छन् ।

चुनावी परिणामको समीक्षा लगायतका विषयमा मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको बैठक चलिरहेको छ । संविधान र व्यवस्थाको भण्डाफोर गर्ने भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत चुनावमा भाग लिएको क्रान्तिकारी माओवादीले दुई वटा वडामा जित हात पार्यो् । उसले चुनावको समीक्षा कसरी गरेको छ त ? नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँगको कुराकानी ः–

तपाईँहरुले यो चुनावबाट के पाउनुभयो ?
चुनावबारे समग्र समीक्षा हुँदैछ । हाम्रो बैठक बसिरहेको छ । हामीले हाम्रो मोर्चा मार्फत जुन उपयोगको नीति लिएका थियौँ, त्यो उपयोग गर्नु ठीक थियो भन्ने नै छ । र, हामीले जित्ने अपेक्षा पनि गरेका थिएनौँ ।

नाफा भयो कि घाटा भयो ?
अपेक्षा नगरेको भएर घाटा भयो भन्न मिल्दैन । तर केही नगरपालिका र केही वडामा जितिएला भन्ने थियो, जितिएन । यसमा हाम्रा आफ्नै केही कमीकमजोरी पनि रहे । केही कमी कमजोरी र सीमा त हाम्रा पनि उजागर भए ।

तर पार्टीकै उम्मेदवारले आफूलाई भोट नहाल्ने, भएको भोट पनि नआउने स्थिति त देखियो नि ? अन्तर्घात भएकै हो त ?
यो अन्तर्घात भनेर भन्छन् नि, यो सबै जसो पार्टीमा देखियो । हाम्रोमा पनि अलि अलि देखियो हेर्नुस् । तपाईँले अघि हाम्रा पनि कमीकमजोरी रहे भन्नुभयो । नैतिकता र राजनीतिक संस्कार खस्किँदै गएको र ह्रास आएको परिणाम हो यो । हाम्रोमा पनि अलिकति देखा पर्यो ।

दैलेखमा तपाईँको पार्टीका दुई सय सदस्यले सदस्यता नवीकरण गर्दा पनि ६० भोट मात्रै आयो, दाङमा पनि पार्टी भित्रैबाट भोट नआएको गुनासो आयो। यसलाई कसरी समीक्षा गर्नुभएको छ ? कारबाहीको कुरा पनि हुन सक्ला । के सोच्नुभएको छ ?
सामान्य समर्थकको कुरा त अलग भयो । तर पार्टी सदस्यबाटै भएको कुरामा त कुनै न कुनै अनुशासनको कारबाही हुन्छ नै । अहिले हामीले निर्णय केही पनि लिएका छैनौँ, छलफलमै छौँ ।

अब दुई नम्बर प्रदेशमा चुनाव हुँदैछ । संघीय संसद र प्रदेशको पनि चुनाव हुँदैछ। बहिस्कार गर्ने कि उपयोग ?
दुई नम्बर प्रदेशमा त हामी चुनाव उपयोग गर्नेतिर नै जान्छौं । अरु चुनाव के गर्ने भन्नेबारेमा हामीले केही निर्णय लिएका छैनौं । यसमा अरु कुरा पनि छन्, जस्तो हामीलाई चुनाव चिन्ह दिने कि नदिने ? पार्टी दर्ता गर्ने कि नगर्ने ? यी कुरामा हामीले राजनीतिक दलसँग कुराकानी पनि गरिरहेका छौँ । अहिलेका प्रधानमन्त्रीसँग पनि हामीले कुराकानी गर्यौँ । उत्कृष्ट संविधान पनि भन्ने तर नदिने । हामी त नयाँ दल पनि होइनौं फेरि । एउटा ऐतिहासिक ढंगले हामी आइरहेका छौँ । चुनाव चिन्ह नदिने हो भने त यो सिधै फासीवाद हो भनेर भन्नुस् । हेर्नोस्, त्यो स्थितिमा यसको उपयोग गरेर खासै अर्थ हुन्न । चुनाव चिह्न दिने हो भने के गर्ने भन्नेबारेमा हामी सोच्छौँ ।

तर तपाईँ आफैले केन्द्रीय समिति बैठकमा ‘चुनाव बहिस्कार भन्दा उपयोग गाह्रो रैछ भन्नुभएछ । त्यसकारण तपाईँहरू कतै फेरि बहिस्कारमै जानु हुने हो कि ?
संसदीय व्यवस्थामा चुनाव बहिस्कार वा उपयोगको प्रश्न कार्यनीतिक प्रश्न हो । उपयोग गरेपछि उपयोग गरेको गर्यौ र बहिस्कार गरेपछि बहिस्कार गरेको गर्यौ भन्ने हुन्न । त्यसैले अवस्था हेरेर उपयोग पनि गर्न सकिन्छ र बहिस्कार पनि गर्न सकिन्छ ।

उसो भए भनिदिनुस् २०७० सालको संविधान सभा चुनाव बहिस्कार र २०७४ स्थानीय चुनाव उपयोगबाट के सिक्नुभयो ?
त्यतिबेला हामीले जुन एजेन्डा उठाएका थियौं, त्यो आधारमा बहिस्कार ठीक थियो । राजनीतिमा पनि मूल्य मान्यता हुन्छ, हामीले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार गएन भनेर कुरा उठाएका थियौँ । बहुदलीय राजनीति भन्ने निर्दलीय प्रधानमन्त्री बनाउने, शक्ति पृथकीकरण भन्ने बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने जस्ता गलत कामहरू भए । यसो गर्नुहुन्न भनेर हामीले राखेका थियौं र त्यो ठीक थियो । हामीले उठाएका कुरा जायज भएकोले बहिस्कार पनि ठीक थियो । र, अहिले एउटा प्रतिक्रिया काल सुरु भयो भनेर हामीले भनेका छौँ। अर्को भाषामा भन्दा आन्दोलन उभारमा छैन, उतारमा छ । उतारमा भएको बेला उपयोग गर्नु सही हुन्छ भन्ने मूल्याङ्कन गरेर उपयोग गर्यौँ ।

तर अहिलेको संविधानले स्थानीय तहलाई जति अधिकार दिएको छ, त्यो आधारमा यो चुनावलाई बलियोसँग उपयोग गरेको भए हुन्थ्यो भन्ने लाग्या छैन ? किनकि अब त ५ वर्ष जित्नेले स्थानीय सत्ता चलाउने हो ।
बलियोको कुरा गर्दा अहिलेकै चुनावपनि सही ढंगले गएको छैन हेर्नोस् । संरक्षित र स्वायत्त क्षेत्र निर्माण भएको छैन । निर्वाचन त पहिले माथिबाट हुनुपर्थ्यो, त्यो भइरहेको छैन । यी सबै हेर्दा त अहिले पनि मिलेको छैन । मिले पनि नमिलेपनि उपयोगमा जाँदा ठीक होला भनेर गएको हो ।

तपाईँहरुले जित्ने अपेक्षा गरेका थिएनौं, जोड पनि लगाएनौ भन्ने जुन कुरा छ नि, यसले जनताबाट कट्ने स्थिति त बन्दैन, कतै भन्न खोजेको ?
मतदाता नामावलीमा धेरैको नाम थिएन, निर्वाचन चिह्न नहुँदा जनतालाई बुझाउन पनि गाह्रो, प्रचारको समय पनि पाइएन, शक्ति पनि कमजोर थियो, हाम्रा लागि धेरै प्रतिकुलता थियो । त्यो अवस्थामा हामीले गाह्रो छ भनेका हौँ । उठे पछि नजित्ने होइन, तर जित्नका लागि मरिहत्ते गर्ने भन्ने भएन । तालमेलकै कुरा हेर्नोस् अहिलेको ।

मतदाता नामावलीमा नाम छुटेको कुरा गर्नुभयो। आयोगले फेरि संकलन गर्दैछ साउन १ गतेदेखि । तपाईँहरू दर्ता गर्नुहुन्छ ?
हो, हामीले दर्ता गर्ने भनेका छौँ । अहिलेका लागि त दर्ता गरेरै गइन्छ ।