नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

डा. अनिल भट्टराईले नेपालमै सम्भव बनाए काखीमा प्वाल पारेर मुटुको शल्यक्रिया

                                                   डाक्टर अनिल भट्टराइ

काठमाण्डौ, असार २८
मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रिय स्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन ।

डा. भट्टराई काखीमुनी प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने नेपालका पहिलो र सम्भवत एक मात्र डाक्टर हुन् । कार्डियोभास्कुलर सर्जरीमा विद्यावारिधि गरेका उनलाई नयाँ प्रविधिमा काम गरेवापत सन् २०११ अक्टोबरमा पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसमा ‘फ्रान्सिस फन्टान’ नामक अन्तर्राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो ।

पर्वतको तिलाहार गाविसमा जन्मेका भट्टराईले एसएलसी पछिको सम्पूर्ण शिक्षा र तालिम विदेशमै पूरा गरे । सन् १९९४ मा एमबिबिएस पढ्न उनी रुस पुगे । एमबिबिएस सकेपछि सन् २००२ देखि २००४ सम्म उनले नेपाल आएर त्रिवि शिक्षण अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्य गरे । त्यसपछि छात्रवृत्तिमा एमडी पढ्न पुनः रुस हानिए । रुसमा रहँदा सन् २००८ मा उनले पहिलोपटक आफ्नै अगूवाईमा एक शिशुको मुटुको प्वाल टालेका थिए ।

२००८ मा फेलोसिप गर्न एक वर्षका लागि उनी अमेरिका पुगे । त्यसपछि उनले २००९ देखि २०१३ सम्म इटलीमा रहेर विद्यावारिधि गरे । त्यसक्रममा त्यहाँ पनि थुप्रै शल्यक्रियाहरुमा संलग्न हुने अवसर पाए । पढाई कर्मका खातिर आफ्नो जीवनको ठूलो कालखण्ड विदेशमा विताएका उनको मनमा आफ्नै देश फर्किने र जनताको सेवा गर्ने हुटहुटी चल्न थाल्यो, जुन उनका बाबुआमा पनि चाहन्थे ।

उसो त उनलाई विदेशमै काम गर्ने प्रस्तावहरु नआएका हैनन् । तर, आफ्नै देशमा गएर काम गर्ने योजना उनले बुनिसकेका थिए । अन्ततः सन् २०१३ मा उनी सदाका लागि नेपाल फर्किए । डा. भट्टराई नेपाल फर्किँदा नेपालमा मुटुरोगको उपचार गर्ने दुईवटा अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा त्रिवि शिक्षण अस्पताल अन्तरगतको मनमोहन कार्डियाक सेन्टर सञ्चालनमा थिए । दुईमध्ये मनमोहनलाई नै उनले प्राथकितामा राखे ।

‘मैले पहिले पनि यहीँ काम गरेकाले यो संस्थासित आत्मियता त थियो नै, यहाँका वरिष्ठ चिकित्सकहरुले समेत आग्रह गरेकाले पनि मैले यसैमा काम गर्ने निधो गरेँ,’ डा भट्टराई सम्झिन्छन् । विदेशमा रहेर अध्ययन गरेको मान्छे, सिधै नेपालको सरकारी अस्पतालमा काम गर्दा उनलाई अप्ठ्यारो महसुस नभएको हैन । सहकर्मीहरु सहयोगी नहुने, उपचार प्रक्रियामा साथ नदिने समस्याहरु धेरै थिए ।

स–साना कुराको लागि पनि एक्लै लड्नु पथ्र्यो । ‘कहिलेकाहीँ त विदेशै फर्किने सोच पनि आउथ्यो’ उनी भन्छन्, ‘तर सबैले यस्तै सोच्ने हो भने यहाँ कसले गर्ने भनेर आफूलाई कन्भिन्स गरेँ ।’

अन्ततः यही सोच र दृढ अठोट लिएर मानिसहरुलाई सम्झाउदै, बुझाउँदै, काम गर्दै जाँदा पछिल्ला दिनहरु उनका लागि सहज बन्दै गए । काम गर्दै जादाँ निजी अस्पतालबाट थुप्रै प्रस्ताव आए । तर, सरकारीमै टिकिरहनुको कारण प्रष्ट्याउँदै उनी भन्छन्, ‘निजीमा काम गर्दा तलव सुविधा त धेरै हुन्थ्यो होला, तर दुरदराजका मानिसलाई सेवा पुर्‍याउन सकिन्नथ्यो ।’

अहिले उनले मनमोहनमै रहेर थुप्रैको निःशुल्क शल्यक्रिया गरिसकेका छन् । साथै, अन्य संस्थाहरुसित मिलेर कतिलाई काठमाडौं आउने–जाने व्यवस्था गरिदिने, फ्रि क्याम्पहरुको आयोजना गर्ने, मुटु सम्बन्धी जनचेतना फैलाउने, अत्यावश्यक मानिसहरुलाई प्राथमिकतामा राखेर शल्यक्रिया गर्ने लगायतका काम गर्दै आएका छन् ।

आफ्नै लगानीमा विदेशबाट उपकरण

डा. भट्टराई विदेशबाट फर्किँदा उनले चाहेजस्तो उपकरण नेपालमा थिएन । जसले गर्दा कतिपय उपकरण उनी आफैंले युरोपबाटै मगाए । तीमध्ये केही उपकरण अस्पतालहरुले नै खरिद गरिदिए । डा. भट्टराईका अनुसार उनकै प्रयासमा त्यतिबेला विदेशबाट ल्याइएका उपकरण अहिले पनि विभिन्न अस्पतालहरुमा प्रयोग भइरहेको छ ।

पहिलो शल्यक्रिया र चश्मा उपहार

सन् २००६ देखि २०१७ भित्र डा. भट्टराईले ३ हजार भन्दा बढीको मुटुको सफल शल्यक्रिया गरिसकेका छन् । यस दौरान अहिलेसम्म कुनै अप्रिय घटना बेहोर्नु नपरेको उनी बताउँछन् ।

उनले सन् २००८ मा जीवनको पहिलो शल्यक्रियाका रुपमा भर्खर जन्मेको शिशुको मुटुको प्वाल टालेका थिए । ‘जीवनमै पहिलोपटक आफ्नै नेतृत्वमा सम्पन्न गरेको शल्यक्रिया सफल हुँदा खुशी लाग्नु त स्वभाविकै हो । तर, बिरामीका परिवारले आफ्नो कामको सह्राहना गर्दै हृदयदेखि आभार व्यक्त गर्दा अनुभव नै बेग्लै हुन्छ,’ उनले भने । सफल सल्यक्रियापछि शिशुका मातापिताले एउटा चश्मा उपहार दिएका थिए, जुन उनी अहिले पनि लगाउने गर्छन् ।

जोखिम ५ प्रतिशत

मुटुको शल्यक्रिया आफैँमा जटिल हुने भएकोले यसमा बिरामीको मृत्यु हुने खतरा पनि हुन्छ । डा. भट्टराई भन्छन्, ‘त्यो ५ प्रतिशतमा जो पनि पर्न सक्छ ।’

उनले इटलीमा आफ्ना एक शिक्षकको एउटा घटना सुनाए, ‘मेरा गुरु एउटा नाम चलेका मुटु शल्यचिकित्सक थिए । एकपटक उनले आफ्नै आमाको शल्यक्रिया गर्नु पर्ने भयो । विडम्बना, शल्यक्रिया सफल हुन सकेन र उनकी आमाको निधन भयो ।’

यद्यपि कतिपय अवस्थामा प्रविधिका कारण वा मानवीय कारण पनि गल्ती हुनसक्ने उनको भनाइ छ । तर, त्यसमा एउटा मात्र चिकित्सक दोषी नभई सम्पूर्ण टिम नै त्यसको उत्तरदायी हुने उनले बताए ।

काखीमुनीबाट शल्यक्रियाको कथा

डा. भट्टराईले इटालीमा छँदा युरोपियन काग्रेसको सभामा भाग लिने अवसर पाएका थिए । उक्त सभामा विभिन्न देशका प्रतिनिधिहरुले आ–आफ्नो देशले सञ्चालनमा ल्याएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराएका थिए । भाग्यवस्, उनले त्यही प्रविधिमा आधारित काखीमुनी प्वाल पारेर मुटुको जटिल शल्यक्रिया गर्ने टिममा सहभागी हुने मौका पाए । त्यसबेला ५/६ वटा त्यस्ता शल्यक्रियामा सहभागी भएको उनी बताउँछन् ।

नेपाल फर्केपछि पराम्परागत विधिमा नै मुटुको शल्यक्रिया गर्दै आएका उनले सन् २०१६ मा पहिलोपटक नयाँ प्रविधिलाई आत्मसात गरे । उनले ग्रीनसिटी अस्पतालमा एक मुटुरोगीको काखीमुनी सानो प्वाल पारेर सफल शल्यक्रिया गरेका थिए ।

त्यसबेला, धादिङ्गकी १६ वर्षीया श्रीषा कार्कीलाई लिएर उनका बुबा काठमाडौं आएका रहेछन् । श्रीषा आविवाहित थिइन् । शल्यक्रियाका दौरान छातीको बीचमा लामो दाग रहँदा छोरीको विवाह गराउन समस्या पर्ला कि भन्ने चिन्ता बुबालाई थियो ।

यो समस्या उनले डा. भट्टराईलाई सुनाए । ‘त्यस अघिसम्म मैले स्तन मुनी काटेर शल्यक्रिया गर्दै आएको थिएँ । त्यसमा साधारण दाग देखिने गरेको थियो । तर, एउटा बाबुले त्यति भनेपछि म सोच्न बाध्य भएँ र विदेशमा सिकेर आएको प्रविधिलाई नेपालमा अब प्रयोग गर्नुपर्छ भन्ने लाग्यो,’ डा। भट्टराईले भने ।

त्यसपछि उनले आफूले काखीमुनी प्वाल पारेर उपचार गर्ने प्रविधि विदेशबाट सिकेर आएको तर, अहिलेसम्म नेपालमा प्रयोग गरेको नगरेको सुनाए । र भने, ‘तपाईको छोरीमै पहिलो पटक गर्ने हो । के तपाईं मलाई विश्वास गर्नु हुन्छ र ? विरामीका बाबुले पनि ‘तपाईले सक्नुहुन्छ, गर्नुस्’ भन्दै डा. भट्टराईप्रति भरोसा देखाए । ‘विरामीले साथ नदिएको भए शायदै मेरो कोशिश सम्भव हुन्थ्यो,’ डा. भट्टराई भन्छन् । शल्यक्रिया सफल भएपछि उनले डा. भट्टराईलाइ गाईको घिउ उपहार दिएका थिए ।

त्यसयता उनले सोही प्रविधिमा आधारित रहेर हालसम्म १५र१६ जनाको मुटुको शल्यक्रिया गरिसकेका छन् । काखीमुनीबाट शल्यक्रिया गर्न छिमेकी मुलुक भारतमा १० लाख भारु पर्ने तर, नेपालमा ३/४ लाख रुपैयाँमा गर्न सकिने उनी बताउँछन् । ‘अहिलेसम्म हामीले न्यूनतम शुल्क वा निःशुल्क यस्तो शल्यक्रिया गर्दै आएका छौं,’ डा। भट्टराईले भने ।

दुःख बढी, पैसा कम

डा. भट्टराई सधैभरी शल्यक्रियामै व्यस्त हुने चिकित्सकमा पर्दछन् । हप्तामा चार दिन शल्यक्रियामै विताउने उनी बाँकी तीन दिन भने ओपीडीका विरामीको चेकजाँच गर्छन् । आवश्यकता पर्दा राति २ बजे, ४ बजे पनि अस्पताल आउने र कहिलेकाँही दिनमै तीन पटक पनि अस्पताल आउने उनले सुनाए ।

डा भट्टराई भन्छन्, ‘मानिसको आँखा, कान र फोक्सो दुईवटा हुन्छ । एउटा भाग निकाले पनि मानिस बाँच्न सक्छ । तर, मुटु यस्तो संवेदनशील एउटा अंग हो, जुन एक मिनेट रोकिदाँ पनि मान्छे मर्न सक्छ । त्यसैले जुनसुकै बेला तपाईं शल्यक्रियाका लागि तयार हुनुपर्छ । भोलि गरुँला भन्ने कुरै आउँदैन ।’

यस अर्थमा उनी पैसा कम र दुःख ज्यादा हुने क्षेत्रको रुपमा मुटुको शल्यचिकित्सा क्षेत्रलाई मान्छन् । ‘एउटा शल्यक्रिया गर्नमा कम्तीमा पनि ५/७ घण्टा लागिहाल्छ । त्यसबाहेक, शल्यक्रियापछिको क्षण र विरामीको अवस्थाले गर्दा पनि हामीलाई दुःख बढी छ,’ उनी भन्छन् । दुःखकै कारण पछिल्लो समय चिकित्सकहरुले सबैभन्दा नरुचाएको क्षेत्रमध्ये यो क्षेत्र एक रहेको उनको बुझाइ छ ।

बढी खर्चिलो र धेरै समय लाग्ने भएकोले पनि निजी अस्पतालहरुको प्राथमिकतामा यस्ता शल्यक्रिया कम पर्ने उनको भनाइ छ । सरकारीमा सुविधा हुने भएकोले विरामीहरु पनि सरकारीप्रति नै बढी आकर्षित हुने उनी बताउँछन् ।

व्यक्तिगत जीवन छैन

मुुटु शल्यचिकित्सक भैसकेपछि डा। भट्टराईको एउटा नमिठो अनुभव पनि छ । गत वर्ष उनी परिवारसहित कतै घुम्न जान हिँडेका थिए । तर, बाटैमा उनलाई अस्पतालबाट फोन आयो । उनले सबै कार्यक्रम रद्द गरेर अस्पताल फर्किनुपर्‍यो ।

‘यस्तै हुने भएकाले आजकल परिवारमा कहिल्यै कसैले मसित घुम्न जाने भन्दैन । देशै छोडेर गए मात्र व्यक्तिगत जीवन हुन्छ, नत्र हुँदैन,’ उनले स्पष्ट पारे ।

श्राेत : अनलाइन खबर