नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन १५ दिन खुल्ला

काठमाण्डौं, असार २७ ।
निर्वाचन आयोगले साउन १ देखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने सोमबार निर्णय गरेको छ । स्थानीय तह अन्तर्गत गाँउपालिका, नगरपालिका, उप महानगरपालिका तथा महानगरपालिकाको निर्वाचनमा अत्याधिक मतदाताहरु मतदान गर्नवाट बञ्चित भएको पाईएपछि यो निर्णय गरेको हो ।

निर्वाचन आयोगले प्रादेश र संघीय संसदको चुनावका लागि फोटो सहितको मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरेको हो । यो आगामी प्रदेश र संसदको निर्वाचनका लागि भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न र कुनै विग्रीएको नामावली सच्याउनु पर्ने भए सच्याउनका लागि नागरिकता लिएर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा नै जानु पर्नेछ । साथै बसाई सरेको भए त्यसको प्रमाण समेत लिएर निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्नेछ ।

यस भन्दा अगाडी व्यक्ति जहा बसेको छ, त्यही वाट आफ्नो नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गराउन मिल्थ्यो । तर यो १५ दिनको अबधिमा पहिला जस्तो आफू बस्दै आएको ठाउँबाट आफ्नो जिल्लामा नाम दर्ता गराउन मिल्ने छैन । यसले काठमाडौं लगायत बाहिरी जिल्लामा बस्दै आएका तर, मतदाता नामावलीमा नाम नभएकाहरुलाई असर गर्नेछ । अब उनीहरु सम्वन्धित जिल्लामै जानुपर्नेछ ।

विगतमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयबाटै सम्वन्धित जिल्लामा फोटो सहितको मतदाता नामावली अध्यावधिक गर्न सकिने व्यवस्था थियो । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन पनि सकिनेछ ।

हालै भएको स्थानीय तहको निर्वाचनमा गत फागुन ९ गतेसम्म नाम अध्यावधिक भएका १ करोड ४० लाख मतदाता थिए । त्यस्तै ओखलढुंगामा ४६ हजार ६ सय ९५ महिला र ४४ हजार ८ सय १३ गरी कुल ९१ हजार ५ सय ८ जना मतदाता रहेका थिए । जिल्ला भर १ हजार भन्दा बढि मतदाताहरु फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम समावेश हुन वाट छुटेको अनुमान छ ।