नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

सिद्धिचरण नगरका मेयरको घोषणा “घरघरै भत्ता पुरयाइने”

ओखलढुंगा, असार २० ।
सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित मेयर मोहनकुमार श्रेष्ठले सामाजिक सुरक्षाभत्ता घरघरै पुर्याउने घोषणा गर्नुभएको छ । मेयरमा निर्वाचित भएपछि आफ्नो पहिलो काम स्वरुप सामाजिक सुरक्षा भत्तालाई घरघरै पु¥याउने घोषणा गर्नु भएको हो ।

निर्वाचित भएपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिदैं उहाँले सिद्धिचरण नगरपालिकाका जेष्ठ नागरिक तथा सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिलाई लगेर सदरमुकामका बैंकमा धाउनु पर्ने व्यवस्था अन्त्य गर्ने बताउनुभयो ।

यस अघि नगरपालिकाले बैंकिङ प्रणाली लागु गरेको थियो । बैंकिङ प्रणालीका कारणले अशक्त र अपांगता भएका व्यक्तिले आफन्तको सहारामा सदरमुकाम धाउनु पर्ने बाध्यता थियो । मेयर श्रेष्ठले भ्रष्टाचार मुक्त, सुन्दर, सफा र हराभरा नगर बनाउने आफ्नो पहिलो मुद्दा रहेको पनि बताउनुभयो ।

ओखलढुंगा सदरमुकाम रहेको साविक ओखलढुंगा गाविसका पूर्व गाविस अध्यक्ष एवं नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाका सभापति श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार बनेर मेयर बन्नुभएको हो । आफु सबै नगरबासको मेयर बन्ने र सबै नागरिकहरुलाई समान व्यबहार गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।