नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

‘उनीहरु विचार, सिद्धान्त र बलिदानको आदर्शबाट विचलित हुन पुगे’

लक्ष्मी मुड्भरी, अध्यक्ष, अनेमसंघ (क्रान्तिकारी)

(लक्ष्मी मुडभरी आम क्रान्तिकारी महिलाहरुको माझमा चिनाइरहनुपर्ने नाम होइन । २०४७ सालमा ६ कक्षा पढ्दापढ्दै अनेरास्ववियू छैठौंको सदस्यता प्राप्त गरेकी नेतृ मुडभरी ०४८ सालदेखि नै सक्रिय राजनीतिमा होमिनु भएको हो । ०४९/५० मा महिला संगठनको जिल्ला सदस्य हुँदै जनयुद्ध घोषणा गरेकै वर्ष ०५२ वैशाख १८ को नेपाल बन्दमा काठमाडौंमा सहभागी हुँदा उहाँ गीता गुरुङसँगै गिरफ्तारीमा पर्नुभयो । दशवर्षे जनयुद्धको कालखण्डमा ८ पटक गिरफ्तारी, जेलनेल र यातनाबाट स्पातिलो बनेकी मुडभरी ०५६ सालमा एक महिनाको गर्भावस्थामा गिरफ्तारमा पर्नुभयो । उहाँलाई ४ महिनाको बच्चासहित ०५७ मा तत्कालीन सरकारले रिहा ग¥यो । उहाँसँग वर्गवैरीका यातना शिविरका निकै पीडादायी कष्टसाध्य जीवनका अनगिन्ती अनभवहरु छन् । जनयुद्धकालका आँधिमय वर्षहरुमा बलिदानीपूर्वक संघर्षबाट खारिएकी नेतृ मुडभरी हालै सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी)को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष मुड्भरीसँग महिला मुक्ति आन्दोलनको पेरिफेरिमा रहेर गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ । सं.)

अनेमसंघ (क्रान्तिकारी) को सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनभएको छ । चुनौती र संभावनाका दृष्टिले कस्तो अनुभति गर्नुभएको छ ?

 विगतमा महिलाहरुको राजनीतिक चेतना, क्षमता र अनुभव निकै कमजोर थियो, तर आज खासगरी १० वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनका राजनीतिक घटनाक्रमको जगमा महिलाहरुमा राजनीतिक चेतनाको विकास भएको छ । पुरुष र महिलाबीच सामाजिक, आर्थिक, लैङ्गिक विभेदका रेखाहरुलाई आज महिलाहरुको ठूलो हिस्साले सहजै बुझ्न सक्दछ । महिलाहरुमा आफ्नै क्षमताप्रतिको आत्मविश्वास बढेको छ । समाजलाई नेतृत्व दिन सकिन्छ भन्ने आत्मविश्वास राख्ने महिलाहरुको ठूलो हिस्सा छ । आन्दोलनलाई नयाँ शिराबाट उठाउनका लागि यो एउटा सम्भावना र आधार पनि हो । सँगै, नेपाली जनताको परिवर्तनको आकांक्षामाथि ठूलो धोकाधडी र गद्दारी आन्दोलनको नेतृत्व गरेर आएकै शक्तिबाट भएको वर्तमान अवस्थामा जनताका अधुरा सपनाको नेतृत्व गरिरहेको मालेमावादको वैचारिक÷सैद्धान्तिक आलोकमा अगाडि बढिरहेको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) हाम्रो साथमा रहेको छ । तमाम उत्पीडित वर्ग र समुदायको अधिकार प्राप्तिको अग्रगामी संघर्षमा नेतृत्वदायी भूमिका दिनसक्ने पार्टी हुनु अर्को मजबुत सम्भावना हो ।

महान् जनयुद्धका बेला महिलाहरुको ठूलो हिस्साले निकै ठूलो त्याग, वीरता, बलिदान प्रदर्शन गरेका थिए । २५०० भन्दा बढी महिलाको शहादत, सयौं बेपत्ता र सयौंको घाइते जीवनको श्रृंखला विकास हुँदा समाजका परिवर्तन, अधिकार र आफैभित्रको शक्तिलाई बुझ्ने र विश्वास गर्ने जुन चेतनाको विकास भयो, त्यसले महिला नेतृत्वको श्रृङ्खला नै तयार पार्न सफल भयो । तर यति ठूलो बलिदानको जगबाट उठेको महिला नेताहरुको ठूलो हिस्सा आज थाकेर हिजोको विचार, सिद्धान्त र बलिदानको आदर्शबाट विचलित हुन पुग्यो । यसले आन्दोलनमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा भूमिका खेल्दैआएको ठूलो हिस्सामा निकै ठूलो आशंका र अविश्वासको अवस्था सृजना गरिदिएको छ । र, सोझा, इमान्दार र वैचारिकस्तर कमजोर भएका महिलाहरुमा भ्रम सिर्जना गरेको छ । आज आन्दोलनमा देखापरेको यो प्रकारको सुधारवादी भ्रमलाई चिरेर क्रान्तिकारी आन्दोलन अघि बढाउनु पहिलो चुनौतीको विषय बनेको छ ।

जनताको वीरतापूर्ण र साहसिक संघर्षको झोक्काबाट पराजयको सन्निकट पुगेको प्रतिक्रियावादी राज्यसत्ता जहाँ, दलाल नोकरशाही र सामन्तवर्गको वर्चस्व कायम छ । आज जनताको आन्दोलन कमजोर बनाउन उनीहरु सफल भएका छन् । जसकारण आन्दोलनका सर्वाधिक स्थापित भएका जनताका अधिकारका मुद्दाहरुलाई दिनानुदिन कमजोर बनाउने षड्यन्त्रहरु भइरहेका छन् । यो आजको गम्भीर चुनौती हो । त्यस षड्यन्त्रको प्रतिवाद गर्ने, भण्डाफोर गर्ने र सचेत र जागरुक जनपंक्तिसहित वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध आन्दोलनको नयाँ शीराबाट उठाउने दायित्वबोधको अनुभूति गरेको छु ।

जनयुद्धकालीन भीषण आँधिमय वर्षहरुमा निकै कष्टसाथ जीवन गुजारेर आएको व्यक्तिका हिसाबले आजसम्मको क्रान्तिकारी महिला मुक्ति आन्दोलनको सम्मीक्षा कसरी गर्नुहुन्छ ? संक्षिप्तमा उल्लेख गरिदिनुस न ।

राणाविरोधी आन्दोलनकी महिला योद्धा योगमाया न्यौापनेले गरेको विद्रोह, मंगलादोवीले गरेको संगठित आन्दोलन, पञ्चायती व्यवस्थाका विरुद्ध कम्युनिष्ट आन्दोलनको सापेक्षतामा उठेको महिला आन्दोलनको जगमा १० वर्षको महान् जनयुद्धले उत्पीडित महिलाहरुलाई सचेत ढंगले आन्दोलित र संगठित गर्ने काम भयो । जनयुद्धका कालखण्डमा महिलाहरुले त्याग, तपस्या, वीरता र बलिदानका अद्वितीय कीर्तिमानहरु कायम गरे । जीउँदै जलाउँदा, शरीरका अंगहरु टुक्रा टुक्रा पार्दा पनि उनीहरुले पार्टीको गोपनीयता कायम राखे । जनमुक्ति सेनाको ४० प्रतिशत हिस्सा महिलायोद्धाहरुले ओगटे । रक्षा, सन्तुलन हुँदै प्रत्याक्रमणसम्मको युद्धमा २५ सयभन्दा बढी महिलाहरुले बलिदान गरे । दशवर्षे जनयुद्ध र १९ दिने आन्दोलनमा महिलाहरुले खेलेको नेतृत्वदायी भूमिकाकै कारण अन्तरिम संविधानमा महिलाहरुलाई राज्यका हरेक निकायमा ३३ प्रतिशतको हिस्सा हुने प्रावधानले कानुनी मान्यता पायो ।

आज देशका प्रमुख कार्यकारी पदमा महिलाहरु प्रमुख बनेका छन् । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला हुनुहुन्छ । संविधानसभामा ३३% महिलाहरुको उपस्थिति छ । यो महिला मुक्ति आन्दोलनको यो महत्वपूर्ण उपलब्धि हो । यसको पहिलो श्रेय तिनै महान् वीरंगनाहरुलाई जान्छ । तर विडम्बना आज जुन लक्ष्य प्राप्तिका लागि त्यो बलिदान भएको थियो, त्यो लक्ष्यलाई नै ओझेल पार्ने षड्यन्त्रहरु भएका छन् । युद्धको मोर्चामा नहारेको आन्दोलनलाई त्यसको नेतृत्वबाटै टेबुलको मोर्चामा ल्याएर बिसाउने काम भएको छ । जसकारण क्रान्तिकारी आन्दोलनमा ठूल्लो धक्का लागेको छ  । उत्पीडित जनताका अधिकारहरु कटौती गर्ने ठूला षड्यन्त्रहरु भइरहेका छन् ।

अर्काेतिर महिला अधिकारकै नाममा साम्राज्यवादी डलरको खेती मौलाएको छ । विशुद्ध नारीवादी आन्दोलनको नारा दिएर महिलाहरुलाई सामान्य सुधारका गुलिया नारा दिएर वास्तविक महिला मुक्तिको आन्दोलनबाट विमूख बनाउने ठूलो षड्यन्त्रस्वरुप नारीवादी आन्दोलनको नाउँमा ठूलो धनराशीको खेलो भएको छ ।

राजनीतिक सत्तामा महिलाहरुलाई ‘हात्तीको देखाउने दाँतझैं’ देखाएर आम महिलाहरुमाथि झन् धेरै शोषण गर्ने खतरा बढेर गएको छ । आज क्रान्तिकारी महिलाहरुले यी नकारात्मक परिस्थितिको सामना गर्नुको अर्काे वकल्प छैन । राजनीतिक रुपमा आम उत्पीडित जनता सत्ताको मालिक हुने नयाँ जनवादी व्यवस्थामा मात्र आम महिलाहरुको मुक्तिको ढोका खुल्नेछ भन्ने सैद्धान्तिक मान्यतालाई स्थापित गर्नु आजको आवश्यकता बनेको छ ।

क्रान्तिकारी महिला आन्दोलनमा देखापरेका टुट, फुट, विभाजन, पलायनता र निष्क्रियतालाई कसरी हेर्नु भएको छ ?

१९ दिने जनआन्दोलनको उत्कर्षसम्म आइपुग्न सिंगो देश सामन्तवादी साङ्लो तोड्नका लागि एकै ठाउँमा केन्द्रित भएको थियो । जबसम्म आन्दोलनमा देश र जनताप्रति नेताहरुको निष्ठा, समर्पण र त्यागको भावना प्रभावी बनिरहन्छ, त्यतिबेला जनताले आफ्नो सबै कुरा समर्पण गर्दाेरहेछ । तर जब नेतृत्वमा व्यक्तिवादी विचलनहरु आउँछ, तब आन्दोलनहरु विघटन हुन पुग्दछन् । नेतृत्वमा समस्याहरुसँग जुध्ने इच्छाशक्तिमा ह्रास आएपछि परिस्थितिअनुसार विचारमा आपूmलाई माथि उठाउनुको सट्टा तलतल गिर्दै गएपछि संसारका जतिसुकै ठूला आन्दोलनहरु पनि टुटफुट, विभाजन हुँदै बिसर्जनमा पुगेर टुंगिएका छन् । नेपालको सन्दर्भमा हिजो त्याग, समर्पण र बलिदानको जगबाट उठेका नेताहरुमा आज व्यक्तिगत लाभको भावना प्रभावी बनेको छ । यो अवस्थामा स्वाभाविक रुपमा आन्दोलनमा टुटफुट र विभाजनको स्थिति पैदा हुन पुगेको छ । आज प्रतिक्रियावादी सत्तामा सामान्य सुधार गर्दै सत्तामा आफ्नो व्यक्तिगत ‘पोजिसन’ खोज्दै हिंड्नेको लाभ एकातिर छ भने महिलाहरुको जीवनमा आमूल परिवर्तनका खातिर निरन्तर लागिरहेको हिस्सा अर्काेतिर छ । आन्दोलनमा वैचारिक रुपमा जब दक्षिणपन्थी संशोधनवादी धारा हावी हुँदै गयो, आधारभूत जनताका समस्याप्रति नेतृत्व उदासिन हुँदै गयो, त्यसले संगठनमा टुटफुटको अवस्था सृजना ग¥यो । आन्दोलनमा नेताहरुले जनतासामु गरेका बाचाहरु छोड्दै गएको दृश्यले कार्यकर्तामा मात्र होइन आम जनतामा ठूलो निराशाको स्थिति पैदा भएको छ । निराशा मात्र होइन, यसले ठूलो अविश्वास र आशंका पनि जन्माइदिएको छ । जसले केही पलायनता र निस्क्रियता पनि पैदा भएको छ ।

दक्षिणपन्थी तथा वामपन्थी अवसरवाद र संशोधनवादको प्रभावमा÷भ्रममा परेका महिलाहरुलाई फेरि क्रान्तिकारी आन्दोलनमा धु्रवीकरण गराउन सकिने संभावना कस्तो देख्नुभएको छ ?

आन्दोलनमा विघटन र ध्रुवीकरणको कुरा विविध ढंगले हुने गरेका छन् । आज लगभग जनताले पनि महसुस गर्ने गरी नेकपा (माके) विचार, सिद्धान्त केही होइन, जुनसुकै मूल्यमा सत्तामा टिकिरहनुपर्छ भन्ने मानसिकताबाट ग्रसित छ । सत्तामा टिक्नका लागि सबैखाले प्राकृतिक÷अप्राकृतिक गठबन्धन गर्न तयार छ । उसका हरेक गतिविधिले अब माके पार्टी कुनै पनि सिद्धान्त र विचारको कुरा गर्नेलाई रुढीवादी देख्दछ । यस्तो सैद्धान्तिक आलोकबाट निर्र्देशित अनेमसंघ (क्रान्तिकारी)को ध्रुवीकरण नजानिंदो ढंगले सत्तासिन पार्टीहरुमा महिलाहरु संगठनहरुसँग नजिकिंदै गएको देखिन्छ । यस्ता अवस्थामा ध्रुवीकरणको नाउमा सिद्धान्तहीन झुण्डहरुको थुप्रो खडा गर्नुको के औचित्य रहन्छ र ? अन्य संगठनहरुसँग पनि अहिले तत्कालै  त त्यस्तो देखिंदैन । कतिपय साझा मुद्दाहरुमा सँगै जाने सम्भावनाहरु छन् । संगठनात्मक रुपमा ध्रुवीकरणको तत्काल सम्भावना देखिंदैन ।

आजको महिला मुक्ति आन्दोलनका समस्यालाई संक्षिप्तमा केलाईदिनुस न ।

आज क्रान्तिकारी महिला आन्दोलन उठाउनका निम्ति हाम्रा सामु निकै ठूला चुनौतीहरु छन् । मैले अघि पनि भनिसकें कि सबभन्दा ठूलो चुनौती भनेको आफैले नेतृत्व गरेको विचार र संगठनलाई एकातिर छोडेर महिला नेताहरु जसरी यो वा त्यो ढंगले यथास्थितिको पक्षपोषण गरिरहनु भएको छ, उहाँहरुमा पैदा भएको वैचारिक विचलनले पैदा गरेका प्रश्नहरुको सही जवाफ खोज्नु र नयाँ ढंगले महिला आन्दोलन संगठित गर्नु आजको प्रमुख चुनौती हो । यसले आन्दोलनमा ठूलो अविश्वासको वातावरण पैदा गरिदिएका छ । अर्काेतिर नारीवादी अभियानकर्ताहरुले सृजना गरेको सुधारवादी भ्रम छ । यो पनि निकै बलियो समस्या हा । महिलाहरु आज पनि आर्थिक रुपमा परनिर्भरतामा बाँचिरहनु परेको छ । हिजोेको पुरानो पुस्तामा मात्र होइन आजको नयाँ पुस्तामा यथार्थवादी दार्शनिक शिक्षाभन्दा अध्यात्मकवादी दृष्टिकोण र शिक्षा हामी छ । चेतना, शिक्षा र अवसरहरुको परिचालन क्षमताको कमीका कारण सम्पत्तिमा पहुँच राख्ने महिलाहरुले सम्पत्ति सदुपयोगभन्दा दुरुपयोग गरिरहेको अवस्था छ । हिजो वर्गसंघर्षले व्यवस्थापनको समाधान गरेकाले हजारौं महिलाहरु पारिवारिक र सामाजिक बन्धनहरु तोडेर मैदानमा उत्रिएका थिए, आज त्यो अवस्था कमजोर बन्न पुगेको छ । यी हाम्रा सामु उपस्थित समस्याहरु छन् ।

उल्लेखित समस्या समाधानका लागि क्रान्तिकारी महिला आन्दोलनको दिशा कस्तो हुन जरुरी छ ?

माथि उल्लेखित समस्याहरुको समाधानका लागि सबैभन्दा पहिला माक्र्सवाद, लेनिनवाद र माओवादको वैचारिक आलोकमा महिलाहरुलाई संगठित गर्नु । महिलाहरुलाई सबैभन्दा पहिला दृष्टिकोणका हिसाबले यथार्थवादी वैज्ञानिक दर्शनको आलोकमा शिक्षित तुल्याउने कामलाई व्यापक बनाउनु पर्दछ । सर्वहारावर्गीय विचारले लैस भएको पार्टीको वैचारिक÷राजनीतिक नेतृत्वमा आम महिलाहरुलाई गोलबन्द गर्नुपर्दछ । महिला मुक्ति आन्दोलनलाई सबै उत्पीडित समुदायसँग एकाकार बनाएर अघि बढाउनुपर्दछ । सामन्तवादका अवशेषहरु र साम्राज्यवादी हस्तक्षेपका विरुद्ध आम महिलाहरुलाई गोलबद्ध गर्नु आवश्यक छ । सबैखाले वैचारिक विचलनहरुलाई परास्त गरी नयाँ जनवादी आन्दोनलमा आम महिलाहरुलाई संगठित गर्न जरुरी छ । यी हाम्रा दीर्घकालीन रुपमा अघि बढ्ने दिशा हुन् ।

आजको यस स्थितिमा एजेण्डा मिल्ने पहिलाको संगठनहरुवीच कार्यगत एकता, तथा सहकार्य सहित संयुक्त संघर्षको संभावना कस्तो देख्नुभएको छ ?

महिलाहरुका तत्कालीन र साझा मुद्दाहरुमा अन्य जुनसुकै संगठनहरुसँग पनि कार्यगत एकता हुनसक्छ । हामीले उठाएका मुद्दाहरुमा सहमत हुने या तत्कालीन साझा मुद्दा भयो भने संयुक्त संघर्ष दिनसक्ने सम्भावना छ ।

हजारौं लाखौं युवायुवती विदेश पलायन भइरहेका छन् । उनीहरुलाई रोक्न र युवा पुस्तालाई क्रान्तिकारी आन्दोलनमा जोड्नेबारे के कस्ता योजना बनाउनु भएको छ ?

नेपालको उत्पादनका निम्ति योग्य युवाशक्ति जसरी विदेश पलायन भएको छ, यसले आज गाउँ खाली भएको छ । यसको मुख्य कारण सरकारले आफ्ना नागरिकहरुलाई देशभित्रै रोजगारीको वातावरण दिन सकिरहेको छैन । उत्पादनका नयाँ सम्भावना खोल्नेभन्दा देश दलाल पुँजीले खोक्रो बनेको छ । युवाहरुलाई पलायन हुनबाट रोक्ने भनेको एउटा उत्पादनको क्षेत्र विकास गरेर हो । अर्काे त्यसको भावी सम्भाव्यताका खातिर उठाइएको वर्गसंघर्ष हो । आज यी दुवै नरहेको अवस्था छ । यो अवस्थामा देशभित्र रहेर या बाहिर गएर पनि परिवर्तनका खातिर उहाँहरुले गर्न सक्ने के रहन्छ र, त्यसको लागि संगठनले छलफल चलाइरहेको छ ।

अन्तमा, छुटेका केहि विषय छन् भने उल्लेख गरिदिनुस् न ।

मेरा आफ्ना भनाइहरु राख्ने मौका दिनुभएकोमा मूलबाटो डटकमलाई धन्यवाद । मूलबाटोले सँधैं उत्पीडितहरुको पक्षमा उभिइरहोस्, शुभकामना दिन चाहन्छु ।